महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित तीनजना पक्राउ


 


विराटनगर, माघ १४
एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित तीनजना आरोपी पक्राउ परेका छन् । बाटो भुलेकी एक विवाहित महिलालाई बहिनीको घरमा पुर्याइदिने भन्दै फकाएर होटलमा पुर्‍याई उनीहरुले सामूहिक बलात्कार गरेको आरोप लागेको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलका सञ्चालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठसहित सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–३ का २५ वर्षीय राम वहादुर नेपाली भनिने सुधान्सु दर्जी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुले माघ ९ गते शुक्रबार बेलुका साढे ५ बजेको समयमा सुनसरीको इटहरीमा काम गरेर बलियास्थित बहिनीको घर जाने क्रममा बाटो अलमलिएकी ती महिलालाई गछिया खोलाको पुल नजिकबाट गाडीमा हालेर होटल पुर्‍याएर सामूहिक बलात्कार गरेको जनाइएको छ । पक्राउ परेका तीनैजनामाथि जबरजस्ती करणी अभियोगमा अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ माघ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्