वन डढेलो नियन्त्रणका लागि कञ्चनपुरमा जागरण अभियान


 


कञ्चनपुर, वैशाख १९ । वन डढेलो नियन्त्रणका लागि यहाँ जनजागरण अभियान सञ्चालन गरिएको छ । वन क्षेत्रमा लाग्ने डढेलो चुनौतीपूर्ण बन्दै जान थालेपछि सामुदायिक वन समन्वय समितिले युएसआइडीको जल जङगल परियोजनाको आर्थिक सहयोगमा जागरण अभियान सञ्चालन गरेको हो ।

समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार चैतको अन्तिम हप्तादेखि थालिएको अभियानअन्तर्गत हालसम्म भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकामा गरी ६० सामुदायिक वनका दुई हजार बढी उपभोक्तालाई वन डढेलोबारे सचेत पार्ने कार्य गरिएको छ ।

“सानो लापरबाहीले क्षणभरमै पूरै वनमा डढेलो लागेर लाखौँ मूल्यको काठ, बहुमूल्य जडीबुटी जलेर खरानी हुन्छ”, उहाँले भन्नुभयो, “चराचुरुङगीको बासस्थान मासिन्छ, घिस्रेर हिँड्ने वन्यजन्तु जलेर मर्ने गर्दछन, जैविधि विविधतामा निकै ठूलो क्षति हुन्छ ।” यिनै कुरा उपभोक्तालाई सम्झाउने बुझाउने कार्यका लागि पालिकास्तर र समुदायस्तरमा बैठक, गोष्ठी तथा तालिमका माध्यमबाट सचेत पार्ने कार्य भइरहेको उहाँको भनाइ छ ।

यो कार्यसँगै सामुदायिक वनसित समन्वय गरी अग्निरेखा निर्माण गर्ने, सरसफाइ गर्ने कार्य फिल्डमै गएर उपभोक्ताहरुलाई अभ्यास गराएर सिकाउने कार्य भइरहेको उल्लेख गर्दै उहाँले यस कार्यबाट सामुदायिक वनका उपभोक्ता वन डढेलो व्यवस्थापन गर्नमा सक्षम हुन थालेको बताउनुभयो । वन डढेलो व्यवस्थापनका लाागि निरोधात्मक उपाय अवलम्बन गर्ने कार्यमा उपभोक्तालाई सक्षम बनाउने लक्ष्य लिएर कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष जोशीले उल्लेख गर्नुभयो ।

“वन क्षेत्रमा डढेलो लागेपछि नियन्त्रण गर्न निकै चुनौतीपूर्ण छ”, समन्वय समितिका सदस्य पुनाराम चौधरीले भन्नुभयो, “डढेलो लाग्न नदिनु नै उत्तम उपाय भएकाले प्रभावकारी नियन्त्रणको कार्यमा जोड दिँदै आएका छौँ ।” उहाँका अनुसार सामुदायिक वनका उपभोक्ताले वन डढेलो नियन्त्रण गर्ने प्रयास गर्दै आए पनि साधन स्रोतको अभावले प्रतिफल हासिल हुन सकिरहेको छैन ।

जनचेतनाको अभाव, चुरोट, बिँडीका ठूला ननिभाई वन क्षेत्रमा फाल्नु, गोठालाले नयाँ घाँस उम्रिने आशमा आगो लगाउने र चोरी सिकारीले लगाउने आगोका कारण वनमा डढेलो लाग्ने गर्दछ । “वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन नगरिँदा प्रत्येक वर्ष चुनौती थपिँदै जान थालेको छ”, महाकाली जनहित सामुदायिक वनका अध्यक्ष तुलसीराम चौधरीले भन्नुभयो, “प्रतिकूल मौसमले झनै समस्यामा पार्ने गरेको छ ।”

फागुनदेखि जेठसम्मको अवधि डढेलो लाग्ने मौसमका रुपमा रहेको चर्चा गर्दै उहाँले लामो समयदेखि वर्षा नहुँदा सुक्खायाम लम्बिँदै जाँदा वन क्षेत्रमा डढेलो लाग्ने प्रवल सम्भावना बढेर गएको बताउनुभयो । “सामुदायिक वनका उपभोक्ताले डढेलो लाग्न नदिनका लागि प्रयास गर्दा गर्दै पनि डढेलो लाग्ने क्रम रोकिएको छैन”, उहाँले भन्नुभयो, “डढेलो लाग्न नदिनका लागि सचेत भएकाले रातिका बेला उठेर पनि डढेलो नियन्त्रणका लागि खटिँदै आएकाले वन जोगाउन सकिएको छ ।”

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले वन क्षेत्रमा प्राकृतिक रुपमा भन्दा नियोजित रुपमा डढेलो लाग्ने गरेको बताउनुभयो । नियतवश र लापरबाहीका कारण वनमा डढेलो लाग्ने गरेको उल्लेख गर्दै उहाँले नियन्त्रण गर्न निकै चुनौतीपूर्ण रहेको बताउनुभयो ।

डढेलोबारे सचेत पार्नका लागि सञ्चार माध्यमबाट सूचना प्रकाशन तथा प्रसारण गर्ने, समुदायस्तरमा जनचेतना फैलाउने कार्य गरिएको उहाँले जानकारी दिनुभयो । यस वर्ष चुरे क्षेत्रमा रहेको राष्ट्रिय वन र लालझाडी मोहना संरक्षण क्षेत्रको ‘कोर एरिया’मा डढेलोले बढी क्षति पुर्याएको छ । 

प्रकाशित मिति: १९ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्