आईजीपी नियुक्ति विवाद : आज मुद्दाको सुनुवाइ हुँदै, फैसला आउन सक्ने


 


काठमाडौं, असार २७
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ । यसअघि १९ असारमा सुनुवाइ भएकोमा मुद्दालाई हेर्दाहेर्दैमा राखेर आज सोमबार पेसी तोकिएको थियो ।

सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । सोमबार रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। आज नै यो मुद्दामा फैसला आउन सक्ने सम्भावना छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको छ। सर्वोच्चले २३ असारसम्म बहस नोट बुझाउन भनेको थियो। उसले २६ गते पेसी राखेर अन्तिम सुनुवाइ सक्दै फैसला सुनाउने समय तोकेको हो।

केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाई चलिरहेको छ । प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । गत वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २७ असार २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्