टेण्डर छलेर कालोसूचीको कम्पनीलाई १२ करोडको डीएमएस बुट खरिदको ठेक्का


 


काठमाडौं । नेपाल प्रहरीको खरिदमा घोटाला हुने गरेका समाचार बारम्बार आइरहने गरेका छन् । प्रहरीको प्रबन्ध निर्देशनालयबाट हुनुपर्ने खरिदका कार्यमा गृहमन्त्री बालकृष्ण खाँण हावी हुँदैआएका छन् ।

खाँण गृहमन्त्री भएपछि प्रहरीका खरिदमा उनले प्रत्यक्ष चासो राख्दैआएका छन् । गृहमन्त्री खाँणले प्रहरीले कालोसूचीमा राखेका ब्यापारीक फर्मबाट कोटेसनका आधारमा डीएमएस बुट खरिदको लागि दबाब दिएपछि अहिले ७ वटै प्रदेश प्रहरी कार्यालय, गण र ७७ जिल्लाका प्रहरी कार्यालयलाई अहिले खरिद प्रक्रिया मिलाउन भ्याइनभ्याई छ । गएको आर्थिक बर्षमा प्रहरी प्रधान कार्यालयले ४६ हजार जोर डीएमएस बुट खरिदका लागि टेण्डर आहुवान गरेको थियो ।

कम मूल्य कबोल गर्ने कम्पनीलाई ठेक्का परे पनि गुणस्तर चेक जाँच गर्दा बुट फेल भएका कारण ठेक्का रद्द हुन पुगेको थियो । टेण्डर रद्द भएपछि पुनः प्रहरी प्रधान कार्यालयले ठेक्का आह्वान गरेको र उक्त बोलपत्रमा एसियन लेदरसँग जेभी गरेर मोर्डन सुजले उक्त ठेक्का पाएको थियो ।

मोर्डन सुज/एसियन लेदर जेभीले मापदण्ड अनुसारको सामान आपूर्ति नगरेका कारण भण्डारमा आपूर्ति गरिसकेको जुत्ता सम्बन्धित कम्पनीलाई फिर्ता लान निर्देशन दिइएको थियो । निर्देशन बमोजिम बुट फिर्ता लग्यो । गुणस्तरहीन बुट आपूर्ति गर्ने दुवै कम्पनीलाई ३ बर्षका लागि कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई प्रहरीले लेखी पठाएको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रहरीको पत्र अनुसार ती दुवै कम्पनीलाई तीन बर्षका लागि कालोसूचीमा राख्यो । आगामी आर्थिक बर्षसम्म कालोसूचीमा रहेकाले ती कम्पनीले कारोबार गर्न नपाउने विद्यमान कानुनी ब्यवस्था छ ।

एसियन लेदर इन्डष्ट्रिज प्रालि मोरङका संचालक हसन अन्सारी (नेताजी) र मोर्डन सुज प्रालि टोखा काठमाडौंका संचालक केशर प्रधानलाई प्रहरीले गुणस्तरहीन बुट आपूर्ति गरेको भन्दै कारबाहीस्वरुप कालोसूचीमा राखेको थियो । सामान्यतया खरिद कार्यालयले सिफारिस बमोजिम निर्णय गर्दैनथ्यो । अर्थात् ३ बर्ष भने पनि २ वा सो भन्दा कम समय कालोसूचीमा राख्ने प्रचलन थियो ।

तर, गम्भीर त्रुटि गरेका कारणले नै हुनसक्छ खरिद अनुगमन कार्यालयले प्रहरीको सिफारिस अनुसार ३ बर्ष नै कालोसूचीमा राख्यो । अहिले कालोसूचीमा परेको एसियन लेदरका संचालक अन्सारीले गृहमन्त्री खाँणसँग मिलेमतो गरी गतबर्ष गुणस्तरहीन भनेर प्रहरीले फिर्ता गरेका जुत्ता प्रहरी प्रधान कार्यालय मातहतका निकायबाट खरिद गर्न लगाएर अर्को गम्भीर गल्ती गरेका छन् ।

नेताजी नामले चिनिने अन्सारी मोरङबाट नेपाली कांग्रेस महासमिति सदस्य निर्वाचित भएका हुन् ।

त्यही नाताले अहिले उनलाई गुणस्तरहीन बुट आपूर्ति गर्न सहयोग पुगेको छ । पार्टीको आडमा मोटो रकम गृहमन्त्री खाँण र बालुवाटारमा बुझाउनेगरी खरिद प्रक्रियामा सामेल हुन पाएका अन्सारीले गतबर्ष प्रहरीले खोलेको टेण्डरमा सहभागी हुँदा २४ हजार जोर डीएमएस बुट आपूर्ति गर्ने ठेक्का पाएका थिए ।

प्रहरी स्रोतका अनुसार प्रतिजोर २ हजार २ सय रुपैयाँमा आपूर्ति गर्ने कबोल गरी बोलपत्र पेश गरेका थिए । अहिले गुणस्तरहीन भनेर प्रहरीले फर्काएको तिनै जुत्ता अन्सारीले २ हजार ६ सय ५० रुपैयाँमा आपूर्ति गरेका छन् ।

७७ जिल्लाका प्रहरी कार्यालयमा कम्तीमा ३ सय ३३ जोर बुट आपूर्ति गर्दा २५ हजार ६४१ जोर हुन्छ । प्रदेश प्रहरी कार्यालय, गण लगायतका कार्यालय छुट्टै छन् । यीसमेत अन्सारीले यही आर्थिक बर्षमा ४६ हजार जोर बुट आपूर्ति गर्ने जिम्मा पाएका छन् ।

यसअघि प्रहरी प्रधान कार्यालयबाटै बन्दोबस्तीका सामानहरु बुट, चुस्ता खरिद हुने गरेकोमा अहिले अन्सारीकै लागि प्रदेश, गण र जिल्लाबाटै विनाटेण्डर कोटेसनमा खरिद गरिएको छ ।
१० लाखसम्मको खरिद कोटेसनबाट गर्न सकिने खरिद ऐनको छिद्रलाई टेकेर अन्सारीलाई बुट आपूर्ति गर्ने जिम्मा दिइएको छ ।

रोचक पक्ष त के छ भने प्रहरी प्रधान कार्यालयमा प्रबन्ध निर्देशनालयले खर्च गर्नेगरी राखिएको बजेट गृहमन्त्रीको दबाबमा अर्थमन्त्रालयबाट रकमान्तर गरी प्रहरीको प्रदेश, गण र जिल्लाले खर्च गर्न पाउनेगरी अख्तियारी पठाइएपछि अन्सारीको खरिद धन्दा सुरु भएको हो । रकमान्तरका क्रममा पनि अर्थमन्त्रालयका अधिकारीहरुले अन्सारीबाट मोटो रकम असुली गरेको स्रोतको दाबी छ ।
अहिले अन्सारीलाई आर्थिक बर्षको मैजारो सकिन लाग्दा सामान आपूर्ति गर्न र बिल भुक्तानीका लागि हरेक युनिटमा ताकेता गर्न भ्याइनभ्याई छ। गृहमन्त्रीका सचिवालयका सदस्यहरु भने अन्सारीलाई बिल भुक्तानी र आर्पूिर्तको रिपोर्टिङलिएर मन्त्रीलाई जानकारी गराउँदैआएका छन्।

यसको एकमात्र कारण अन्सारीबाट कबोल अनुसारको घुस आउन बाँकी भएकाले हो, स्रोतले बतायो ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले गुणस्तरहीन बुट आपूर्ति कसले गरेको हो भन्ने अनभिज्ञता प्रकट गर्दै भने, जे जस्तो भए पनि प्रहरीलाई बुट लगाउनबाट नरोकौं भनेर युनिटहरुमार्फत् खरिद गर्न सर्कुलर गरिएको र यस्तो असल नियत राखेर गरेको कार्यलाई अतिरन्जित नगरिदिन आग्रह गरे । – आजको साँघु साप्ताहिकमा खबर छ

प्रकाशित मिति: २७ असार २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्