बैतडीमा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु


 


बैतडी, चैत्र २९
मध्यरातमा बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

पाटन नगरपालिका–८ मा भएकाे जिप दुर्घटनामा परी एकै गाउँका ६ जनाको मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जिल्लाको पाटन नगरपालिका स्थित झौलेकमा जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको पुष्टि गरे ।

जिप सडकबाट करिब ५०० मिटर तल खस्दा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको हाे ।

बैतडीको झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से१ज ७६४ नम्बरको जिप राति ११ बजे दुर्घटना भएको उनले बताए। जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएका थिए ।

प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्