एक भारतीय नागरिकसहित २ हुन्डी कारोबारी पक्राउ


 


पर्सा । पर्साको बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठाबाट १२ लाख रुपैयाँसहित दुई २ जना हुण्डी कारोबारी पक्राउ परेका छन् । प्रहरीले एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत विहार जिल्ला पूर्वी चम्पारण ग्राम पञ्चायत भेलाहीका ४० वर्षीय धनन्जयकुमार गुप्ता र बिन्दवासिनी गाउँपालिका–६ का २६ वर्षीय मुसाहेब आलम छन् ।

प्रहरीले उनीहरुलाई वीरगञ्जबाट प्रसौनीभाठ्ठातर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा सवार गुप्ताले बोकेको कालो झोलाबाट स्रोत नखुलेको नेपाली एक हजार दरका ८ सय थान र ५ सय दरका ८ सय थान नोट गरी १२ लाख रुपैयाँ फेला परेको थियो ।

मोटरसाइकल चालक आलम र गुप्तालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विरूद्धको कसूरमा बुधबार पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिइ थप अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्