शिक्षक महासंघको अगुवाईमा माइतीघरमा प्रदर्शन


 


काठमाडौं, वैशाख २९ । नेपाल शिक्षक महासंघको अगुवाईमा आज (शुक्रबार) काठमाडौंको माइतीघर मण्डलामा १४ संघ–संगठनले प्रदर्शन गरेका छन् । प्रदर्शनमा शिक्षकका विभिन्न संघसंगठन, विद्यालय कर्मचारी लगायत सहभागी थिए ।

उनीहरुले शिक्षा क्षेत्रको समस्याहरु समाधान गर्न आवश्यक संघीय शिक्षा ऐन खोई भन्दै प्रदर्शन गरेका हुन् । साथै उनीहरूले आगामी बजेट मार्फत न्यून बेतनमा काम गरिरहेका विद्यालय कर्मचारी र बालकक्षा शिक्षक (ईसीडी) लाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनु पर्ने माग राखेका छन् ।

न्युनतम पारिश्रमिकको माग राख्दै विद्यालयका कर्मचारी र ईसीडी शिक्षक विगत एकवर्षदेखि निरन्तर आन्दोलनमा छन् । उनीहरुलाई संघीय सरकारले ८ हजार मात्रै मासिक तलबभत्ता दिँदै आएको छ ।

केही स्थानीय तहले विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई थप रकम दिएर १५ हजारसम्म मासिक पारिश्रमिक दिने गरेका छन् । शिक्षक महासंघले २०७५ र २०७८ सालमा शिक्षा मन्त्रालयसँग भएको ५१ बुँदे सम्झौता कार्यान्वयन गर्न समेत स्मरण गराएको छ ।

प्रदर्शनमा स्थायी, अस्थायी, करार, राहत, बालकक्षा, साबिक उच्चमावि, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा, संस्थागत विद्यालय शिक्षक लगायतका शिक्षक र विद्यालयका लेखापाल, कार्यालय सहयोगी लगायत कर्मचारी सहभागी थिए ।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्