बाँकी रहेका मुक्त कमैया र हलियाको पुनः स्थापना गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


 


काठमाडौं, वैशाख ३०। मुक्त कमैया, कमलहरी तथा हलिया, हरवाचरवाले पुनःस्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहा ‘प्रचण्ड’ले पुनः स्थापना हुन बाँकी रहेका मुक्त कमैया, कमलहरी, हलिया र हरवाचरवाको पुनःस्थापना गर्न पहल गर्ने बताएका छन् ।

‘मुक्त कमैया, कमलहरी, हलिया र हरवाचरवाको समस्याबारे म जानकार छु । पुनः स्थापनाको पहलकदमी पनि लिन्छु, उनले भने । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीको समेत उपस्थितिमा सो समुदायका प्रतिनिधिले ज्ञापनपत्र बुझाएका हुन् ।

भूमि व्यवस्था मन्त्रालयले तयार गरेको कमैया पुनः स्थापना कार्यविधि २०७९ पारित गरी हरवाचरवाको लगत सङ्कलन र छुट मुक्त कमैया, हलियाको यथाशीघ्र लगत लिई पुनः स्थापना गर्न आवश्यक बजेट विनियोजनको माग उनीहरूले गरेका हुन ।

नागरिक अगुवा श्याम श्रेष्ठले सरकारले तत्काल बाधा मजदुरको समस्या समाधान गर्न पहल गर्न अनुरोध गर्नुभयो । ज्ञापनपत्र बुझाउने क्रममा मुक्त कमैयाका प्रतिनिधि, कमलहरी, हलिया र हरवाचरवा अगुवाहरूको सहभागिता रहेको थियो ।

त्यस्तै सासद हरि चौधरी, पूर्व सांसद हरि श्रीपाइली, आरडिएनका अध्यक्ष गणेश विके, अधिवक्ता बालाराम भट्टराई, ईश्वर सुनारसहित मुक्त कमैया, हलिया, हरवाचरवाहरुको क्षेत्रका कार्यरत सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्