भुटानी शरणार्थी प्रकरण : प्रहरीले आज सरकारी वकिललाई प्रतिवेदन बुझाउने


 


काठमाडौं, जेठ ८
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर आज जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंलेले कानूनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी प्रतिवेदन बुझाउन लागेको हो ।

आइतबार नै प्रतिवेदन बुझाउने भनिए पनि प्राविधिक कारण बुझाउन नसकेको परिसरले जनाएको छ । बिहान १० बजेभित्र जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसक्नु पर्नेछ ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न तीनदिनको म्याद थपिएको थियो । अहिलेसम्म कुन कसुरमा मुद्दा चलाउने भन्ने विषय टुंगिसकेको छैन । प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि मात्र कसुरबारे टुंगो लाग्ने बताइएको छ ।

संगठित अपराध, प्रतिवेदन नक्कल गरेको, शरणार्थी कार्डहरू नक्कल गरेको, सरकारी कागजात किर्ते गरेको, राष्ट्रकै अपमान हुने काम गरेको कसुरमा मुद्दा चलाउन सकिने विषयमा अध्ययन भइरहेको बताइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित उच्च पदस्थ व्यक्तिहरू प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्