चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक छः प्रधानमन्त्री
काठमाडौं, जेठ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन् ।
सोमबार चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवहरुको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको बताएका हुन् । उनले चिकित्सा क्षेत्रका हरेक समस्यालाई समाधान गर्नेगरी ऐन निर्माणको कार्यलाई पूर्णता दिनुपर्ने आवश्यकता औंल्याए ।
आयोगले मेहनत गरेर तयार पारेको ऐनलाई राष्ट्रिय हीत हुनेगरी अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । देशमा रहेका विभिन्न समस्याको प्रतिबिम्बन नेपालको चिकित्सा क्षेत्रमा पनि रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा पनि गुणात्मक सफाईको आवश्यकता रहेको समेत बताए ।
बैठकको अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले बैठकमा चिकित्सा शिक्षाबारे सजिव छलफल भएको भन्दै खुसी व्यक्त गरे । बैठकमा चिकित्सा शिक्षा आयोगका सदस्यहरुले राष्ट्रिय पाठ्यक्रम प्रारुप तयार गर्नेबारे, जनशक्ति प्रक्षेपण, चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति निर्माणबारे आफ्नो धारणा राखेका थिए ।
प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार