बेपत्ता व्यक्ति २४ वर्षपछि सम्पर्कमा


 


जाजरकोट, जेठ १० । जाजरकोटमा बेपत्ता भएको भनिएका एक व्यक्ति २४ वर्षपछि परिवारको सम्पर्कमा आएका छन् । जिल्लाको भेरी नगरपालिका–२ तिमीलेका टीकाराम पुन २४ वर्षपछि सम्पर्कमा आएका हुन् । उनी वि.सं. २०५६ देखि हालसम्म परिवारको सम्पर्कमा आएका थिएनन् ।

उनी हाल भारतको उत्तराखण्ड, जिल्ला उत्तरकाशी, पोष्ट अफिस–नेटवार, तहसिल–मोरी, गाउँ–गौरादी भन्ने ठाउँमा बस्दै आएका छन् । पुनको घरमा श्रीमती, दुई छोरा, दुई छोरी छन् ।

स्थानीय शिक्षक रुद्रबहादुर वलीसँगको भिडियो कलमार्फत सम्पर्कमा आएका पुन हाल त्यहाँ घर बनाइ कृषि पेसामा संलग्न भएका छन् । उनका अनुसार उनले उक्त स्थानमा स्याउको बगैँचा तयार गरी कृषि पेसामा लागेर एकल जीवन बिताइरहेका छन् ।

उनका कान्छा छोरा कर्णबहादुर पुनले आफूहरूले एक्कासी बुबा जीवितै सम्पर्कमा आएको कुरा सुन्दा सपना जस्तो भएको बताए । अब छिट्टै बुबाको सम्पर्क ठेगानामा गएर बुबालाई भेटेर घर ल्याउने कान्छा छोरा कर्णले बताउँछन् ।

प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्