भारतले राख्यो दशगजा क्षेत्रमा उपकरण, नेपाली प्रशासन बेखबर


 


झापा, असार १ । झापाको कचनकवलमा नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय पक्षले साइरन भन्दै ‘सेन्सर’ जस्तो देखि उपकरण जडान गरेको छ ।

स्थानीय सरकार तथा प्रशासनसँग समन्वय नगरी भारतीय पक्षले उपकरण राखेपछि स्थानीयले विरोध गरेका छन् । दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन विपरीत भारतीय पक्षबाट जडान गरिएको उपकरणको विषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए । कतिपय साइरनहरू सीमामा रहेको पिलर नै नजिकसमेत राखेको पाइएको उपाध्यक्ष भट्टराईले बताए ।

सो क्षेत्रमा करिब ४ किलोमिटर क्षेत्रमा यस प्रकारका उपकरण रहेको र भारतीय पक्षले हात्तीको क्षति न्यूनीकरणका लागि साइरन राखेको बताएको पनि उपाध्यक्ष भट्टराईले बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आफूहरूलाई पनि यस विषयमा जानकारी प्राप्त भएको र तत्कालै सशस्त्र प्रहरीलाई पनि जानकारी गराएर त्यस विषयमा जानकारी लिएको बताए । उनीहरूले साइरन राखेको बताएको उल्लेख गर्दै दश गजा क्षेत्रमा नराख्न पनि भनेको उनले बताए ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्