ललिता निवास भित्रका अस्थायी संरचना हटाउन २४ घन्टे अल्टिमेटम


 


काठमाडौं, असार १७ । काठमाडौं महानगरपालिकाले ललिता निवास भित्रका अस्थायी संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ।

ललिता निवासभित्र भएका सबै अस्थायी संरचना हटाउन २४ घन्टे मौखिक अल्टिमेटम दिइएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजागाईंले जानकारी दिए।

आइतबार दिउँसो ललिता निवासको जग्गामा घेराबार गर्न महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले अहिले घेराबारको काम गरिरहेको छ।

सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ। केही दिनअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम र पूर्वकर्मचारी गोपाल कार्की अहिले प्रहरी हिरासतमा छन्।

ललिता निवासभित्र नर्सरी, काठका सामानहरू, अस्थायी टहरा लगायत संरचनाहरू छन्।

प्रकाशित मिति: १७ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्