नेसपाको सङ्गठन निर्माण र विस्तार अभियान साउन १ देखि


 


baburam bhattarai

काठमाडौं, असार २७ । नेपाल समाजवादी पार्टी (नेसपा)ले सङ्गठन निर्माण र विस्तार अभियान साउन १ गतेदेखि सुरु गर्ने भएको छ ।

६ महिनासम्म सञ्चालन गरिने अभियान साउन १ गते देशभर वृक्षारोपण कार्यक्रम गरेर सुरुवात गरिने नेसपाले जानकारी दिएको छ । वृक्षारोपणसँगै जिल्ला जिल्लामा अभियान उद्घाटन कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

अभियानको सुरु चरणमा प्रदेश स्तरीय प्रशिक्षण बैठक हुने बताइएको छ । जसमा कोशीमा साउन १५ गते, मधेसमा १७ गते, बागमतीमा १९ गते, गण्डकीमा २३ गते, लुम्बिनीमा २५ गते, कर्णालीमा २७ गते र सुदूरपश्चिममा २९ गते बैठक हुनेछ ।

त्यस्तै बैठकले अभियान सञ्चालनका लागि विभिन्न प्रदेशहरूमा केन्द्रीय कार्यकारिणी समितिका विभिन्न नेताहरूलाई अभियानको नेतृत्वमा चयन पनि गरेको छ ।

जसअनुसार कोशी प्रदेशमा हिसिला यमी, मधेस प्रदेशमा अध्यक्ष महेन्द्र यादव, बागमती प्रदेशमा गङ्गा श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर साह र सुदूरपश्चिम प्रदेशमा दुर्गा सोव र जनक शाहको नेतृत्वमा अभियान सञ्चालन हुनेछ ।

त्यसैगरी अभियानको प्रभावकारिता अनुगमन गर्न राजनीतिक समिति सदस्य महेन्द्र श्रेष्ठको नेतृत्वमा अनुगमन समिति बनेको छ ।

प्रकाशित मिति: २७ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्