प्रधानन्यायाधीश नियुक्तिको तयारी, प्रमुख ३ दलबीच छलफल


 


काठमाडौं, साउन १४ । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।

आइतबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको छ ।

छलफलका क्रममा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्का अन्य सदस्यसँग छलफल गरेर छिट्टै परिषद् बैठक बोलाउने बताएका थिए । परिषद्को बैठकको मिति भने तोकिएको छैन । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिंदैछ ।

प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि हालसम्म संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन ।

प्रकाशित मिति: १४ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्