गैर कानुनी धन्दामा चिनियाँ: परम्परागतदेखि प्रविधि सम्पन्न अपराधमा संलग्नता


 


काठमाडाैं । बहुचर्चित सुन प्रकरणमा बिहीवार राति थप दुई जना पक्राउ परेपछि गिरफ्तार हुने चिनियाँ नागरिकको सङ्ख्या सात पुगेको छ।

जाँच पास भएर त्रिभुवन विमानस्थलबाट निस्किएको सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले अनुसन्धान भइरहेकाले सुन प्रकरणमा उनीहरूको संलग्नताको प्रकृतिबारे बोल्न नमिल्ने बताए।

नेपालमा पछिल्ला वर्षहरूमा अपराधकर्ममा संलग्न विदेशीहरूमा चिनियाँ नागरिकहरू अगाडि देखिएको उनको भनाइ छ।

“पुरानो तथ्याङ्क त मसँग अहिले छैन। तर तीन वर्षयताको विवरण हेर्ने हो भने भारतीय बाहेक अपराधमा संलग्न विदेशीमा चिनियाँ नै सबैभन्दा अगाडि छन्,” डीआईजी कडायतले बताए।

जेलमा बढ्दै चिनियाँ
कारागार व्यवस्थापन विभागका अनुसार देशभरिका कारागारहरूमा अहिले करिब एक हजार ४०० कैदी र बन्दीहरू छन्।

देशभरका ७२ जिल्लास्थित ७४ वटा कारागारमा सबैभन्दा धेरै भारतीय छन्।

विभागका निर्देशक तथा प्रवक्ता कमलप्रसाद पाण्डेले विभिन्न जेलमा ४० जना चिनियाँ नागरिक रहेको जानकारी दिए।

तीमध्ये सबैभन्दा धेरै काठमाण्डूको सुनधारास्थित केन्द्रीय कारागारमा छन्।

कारागार प्रकाशक ललित बस्नेतले दिएको जानकारी अनुसार एक महिलासहित २८ जना चिनियाँ नागरिक छन्, “तीमध्ये १० जना कैदी र अन्य थुनुवा छन्।”

काठमाण्डूको डिल्लीबजारस्थित कारागारमा चार जना चिनियाँ छन्। कारागार प्रशासक रोमबहादुर महतका अनुसार उनीहरू चोरी, जबरजस्ती करणी, वैवाहिक बलात्कार र वन्यजन्तुको छाला ओसार पसार लगायतका मुद्दामा थुनामा पठाइएका हुन्।

बन कार्यालय, राजश्व अनुसन्धान विभाग, जिल्ला प्रशासन र भन्सार विभाग लगायतले थुनुवाको रूपमा जेल पठाउने गर्छन्।

एक अधिकारी भन्छन्, “पछिल्ला वर्षहरूमा चिनियाँहरूको सङ्ख्या बढ्दो छ।”

पछिल्ला दिनहरूमा सानो-ठूलो परिमाणमा बरामद हुने गरेका सुनसँगै चिनियाँ नागरिकहरू पनि पक्राउ पर्ने गरेका छन्।

अपराधमा विविधता
सीआईबीले आर्थिक वर्ष २०७९/८० मा तीन चिनियाँ विरुद्ध मुद्दा चलाएको थियो।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार अवैध रूपमा कल बाइपास गरेको कसुरमा उनीहरूविरुद्ध मुद्दा चलाइएको हो।

अनुसन्धानका क्रममा दुई जना चिनियाँ अहिले राजश्व अनुसन्धान विभागको नियन्त्रणमा छन्।

विभागका सूचना अधिकारी नवराज अधिकारीले स्रोत नखुलेको रकम उनीहरू पक्राउ परेको जानकारी दिए।

चिनियाँहरूले प्रवेशाज्ञा म्याद गुजारेर बसेको, एटीएम ह्याकिङ जस्ता मुद्दाहरू पनि खेपिरहेका छन्।

पूर्वडीआईजी हेमन्त मल्लका भनाइमा सुरुमा वन्यजन्तुको छाला, हड्डी, पित्त अनि रक्त चन्दन लगायतको तस्करीमा चिनियाँ धेरै पहिलेदेखि संलग्न हुने गरेका थिए।

उत्तर तर्फबाट नाकाहरूको प्रयोग हुने गरेको उल्लेख गर्दै उनले भने, “ती सबै भारतबाट नेपाल हुँदै अन्ततः जाने भनेको चीनमै हो।”

तर ‘कनेक्टिभिटी र कम्युनिकेसन’ (यातायात सञ्जाल र समाचार)ले गर्दा अहिले धेरै देखिन थालेको हो।

उनका अनुसार अहिले सुनमा उनीहरूको संलग्नता धेरै देखिएको छ जुन भारतसँगै सम्बन्धित पनि छ।

चिनियाँ धन्दाको आकार
बङ्कको एटीएम कार्डबाट रकम चोरीको अभियोगमा २०७६ सालको भदौमा चिनियाँहरू काठमाण्डूमा समातिएका थिए। चोरी गर्नै चीनबाट एउटा समूह नै नेपाल आएको अधिकारीहरू बताउँछन्।

तर त्यही वर्ष पुस ७ गते अहिलेसम्मकै सबैभन्दा ठूलो कारबाही भनिएको प्रकरणमा १२२ जना चिनियाँ नागरिक समातिएका थिए।

चीनको आग्रह र सूचनाका आधारमा उक्त कारबाही गरिएको बताइएको छ।

उस बेलाको कारबाहीबारे जानकार एक उच्च प्रहरी अधिकारी भन्छन्, “कूटनीतिक माध्यमबाट हेडक्वार्टरलाई आएको सूचनाअनुसार अपरेसन भयो, अध्यागमन कानुन आकर्षित भएपछि अध्यागमन विभागमा बुझाइएको थियो।”

उनीहरूको गिरफ्तारीकोको भोलिपल्टै चीनको विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जबाफ दिँदै प्रवक्ता गेङ्ग सुवाङ्ले प्रस्टरूपमा चीन र नेपाल प्रहरीले संयुक्तरूपमा त्यो कारबाही गरेको बताएका थिए।

पछि उनीहरूलाई लिन चीनले विमान नै काठमाण्डू पठाएको थियो।

त्यसको एक वर्षपछि २०७७ पुस तेस्रो साता दुई चिनियाँ नागरिकलाई अपहरण गरेको अभियोगमा पक्राउ पर्ने चार जनामध्ये दुई जना चिनियाँ नै थिए।

काठमाण्डूको बानेश्वरमा २०७८ साल फागुनमा चिनियाँ लक्षित कारबाही गरिएको थियो। तर त्यसमा पक्राउ पर्नेमा अधिकांश नेपाली थिए।

गत वर्ष साउन महिनामा कल सेन्टरमा छापा मार्दा चिनियाँहरू नै हर्ताकर्ता थिए।

अनुसन्धान अधिकारीहरूका अनुसार चिनियाँहरूले पछिल्ला वर्षहरूमा नेपालीको नाममा कम्पनी दर्ता गरेर र नेपालीलाई पनि प्रयोग गरेर गैर कानुनी काम गर्दा त्यस्ता घटनामा नेपालीहरू धेरै तानिन थालेका हुन्।

बगिरहेको माछा र अपराधको सम्बन्ध
जानकारहरूका अनुसार नेपालमा मात्र नभई फिलिपिन्स, लाओस, क्याम्बोडिया र म्यानमार लगायतका देशहरूमा बसेर चीनमा ठग्ने काममा चिनियाँहरू नै संलग्न भेटिएका छन्।

सुन तस्करीको सन्दर्भ नेपाल र भारतमा त्यसको माग/खपत र वैधानिक आपूर्तिबीच रहेको ठूलो खाडलसँग जोडिएको बताइन्छ। त्यो अभाव पूर्तिको निम्ति सुनको अवैध आयात चीनबाट हुने गरेको जानकारहरूको बुझाइ छ।

पूर्व डीआईजी हेमन्त मल्ल त मानव तस्करीमा समेत चिनियाँ संलग्नता बढेको ठान्छन्।

नेपालीलाई कामको लोभ देखाएर विदेश लगेर बन्धक बनाउने काममा मुख्य रूपले चिनियाँहरू संलग्न रहेको उनको भनाइ छ।

यसरी अपराध, त्यसको प्रकृति र शैलीमा आउन थालेको परिवर्तनमा दुई देशबीचको प्रहरीबीच समन्वय महत्त्वपूर्ण हुने बताउने मल्ल सरकारले पनि त्यसै किसिमको प्रविधि र जनशक्तिमा लगानी गर्नुपर्ने खाँचो औँल्याउँछन्।

त्यो भयो भने के, अहिलेभन्दा ठूलो धन्दाको पर्दाफास हुनसक्छ?

“रकम स्थानान्तरण, सुन र वन्यजन्तुका अङ्गको तस्करी सङ्गठित अपराध हुन्, यसको स्वरूप र प्रकृति फेरिन सक्छ,” पूर्व डीआईजी मल्लको भनाइ छ, “यो खोलाको माछा जस्तै हो, कहिले हात हाल्दा सानो माछा फेला पर्छ, कहिले ठूलो फेला पर्छ तर माछा त बगिरहन्छ नि।” बीबीसी

प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्