नयाँ बसपार्क, ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ बन्ने


 


काठमाडौं, भदाैं ३
दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने ‘अन्डरपास’ (भेहिकल अन्डरपास) निर्माण हुने भएको छ । कङ्लकी–वसुन्धारा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ निर्माण हुने भएको हो ।

‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको जानकारी दिए ।

उनले भने, “यसअघि चक्रपथको सो खण्डलाई कोटेश्वर–कलङ्की जस्तै विस्तार मात्र गर्ने सहमति भए पनि बढ्दै गएको सवारी चाप तथा मानवीय आवागमनलाई ध्यानमा राख्दै ‘अन्डरपास’ समेत निर्माण गरिदिन प्रस्ताव गरिएकोमा चिनियाँ पक्षले त्यसमा सहमति जनाएको हो ।”

उनका अनुसार केही दिनअघि नेपालका लागि चीनका राजदूतलगायतको टोलीले ‘अन्डरपास’ निर्माण गरिने ठाउँको अवलोकन गरेको थियो । त्यसपछि सो कार्यका लागि नेपाल र चीनबिच सो सहमति भएको हो । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: ३ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्