संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ मा


 


काठमाडौं, भदौ ७ । प्रतिनिधिसभा सञ्चालन हुन थालेको झन्डै ८ महिनापछि संसदीय समितिको सभापति चयन गर्ने तयारी गरिएको छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते १ बजेका लागि तय गरेको सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने राष्ट्रियसभाका सदस्यहरुको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति रहेका छन् ।

समितिहरुमा सभापति चयन प्रक्रियामा ढिलाई हुँदा विधेयकमाथिको छलफल लगायतका विषय प्रभावकारी हुन सकेको थिएन ।

दलहरुबीच संसदीय समितिमा नेपाली कांग्रेसले ४ वटा, एमालेले ३, नेकपा माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले १÷१ समितिको सभापति पाउने सहमति छ ।

प्रकाशित मिति: ७ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्