टीकापुर घटनामा दाेषी ठहरिएका रेशमलालले बनाए मृतक बालकको सालिक


 


धनगढी, भदौ ७ । थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुर घटनामा मारिएका २ वर्षका बालक टेकबहादुर साउँदको सालिक अनावरण गरिएको छ ।

सालिकको टीकापुर घटनाको मुख्य योजनाकारको अभियोगमा दोषी ठहर भएर पनि राष्ट्रपतिबाट कैद मिनाह पाएका रेशमलाल चौधरी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, टेकबहादुर साउदका बाजे जंग साउद र बुवा÷आमाले संयुक्त रूपमा अनावरण गरे ।

टीकापुर घटनाको ८ वर्ष पुगेको दिन पारेर मृतक साउदको स्मृतिमा बिहीबार सालिक अनावरण गरिएको हो ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक समेत रहेका रेशमलाल र टेकबहादुर साउद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो ।

साउदका बुवा नेत्रलाई अंकमाल गर्दै चौधरीले अझै पनि आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने धारणा राखेका थिए । टीकापुरमा अझै पनि सद्भाव खलबल्याउने काम भइरहेको उनको भनाइ थियो ।

८ वर्ष अघि आजकै दिन थरुहट–थारुवान र अखण्ड सुदूूरपश्चिम आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा नाबालक साउद, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो ।

घटनाका मुख्य योजनाकारको अभियोग लागेका रेशम चौधरीसहितका ११ जनालाई जिल्ला अदालत कैलालीले २२ फागुन २०७५ मा जन्मकैदको सजाय सुनाएको थियो ।

उच्च अदालत दिपायलले सदर गरेको जिल्लाको फैसलाविरुद्ध रेशम चौधरी सर्वोच्च अदालत पुगेका थिए, सर्वोच्च अदालतले गत २ जेठमा जिल्ला र उच्च अदालतको फैसला सदर गरेको थियो ।

तर चौधरीलाई सरकारको सिफारिसमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी सजाय माफी दिँएपछि उनी रिहा भएका थिए ।

प्रकाशित मिति: ७ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्