आइफोन जितेको भन्दै ठगी गर्ने दुई जना पक्राउ


 


काठमाडौं, भदौ ७ । आइफोन जित्नुभयो भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

टिकटक, फेसबुक, ह्वाट्सएप मार्फत लक्की ड्रमा आइफोन जितेको भन्दै एक महिलालाई प्रलोभन देखाएर भन्सार शुल्कवापत रकम पठाउन लगाएर ठगी गरेको आरोपमा प्रहरीको साइबर व्यूरोले पर्साको बहुदरमाइ नगरपालिका–८ का ३० वर्षका राजकुमार पण्डित र रौतहटको कटहरिया नगरपालिका–१ का उमेशकुमार यादवलाई पक्राउ गरेको हो ।

उनीहरुले जमजम इलेक्ट्रोनिक्सले लक्की ड्र गर्दा आइफोन जितेको भन्दै आफ्नो बैंकखातामा रकम हाल्न लगाएको पाइएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति रायले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई कुपण्डोलको गुसिंगालबाट पक्राउ गरेको हो । उनीहरुलाई अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको साइबर रायले जानकारी दिए ।

उनीहरुको साथबाट प्रहरीले ४९ लाख ९५ हजार रुपैयाँ नगद, ७ थान मोवाइल, १८३ थान सिमकार्ड र एउटा राउटर पनि बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति: ७ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्