अरिंगाल पोल्न गएका वडा सदस्यको रुखबाट लडेर मृत्यु


 


गोरखा, भदौ १३ । गोरखाको आरुघाटमा अरिंगाल पोल्न गएका वडा सदस्यको रुखबाट लडेर मृत्यु भएको छ । आरुघाट गाउँपालिका–९ का वडा सदस्य शंकर माझीको रुखबाट लडेर मृत्यु भएको हो ।

मंगलबार राति नौ बजे वडा नम्बर ८ लामबगरमा अरिंगालको गोला पोल्ने क्रममा उनी रुखबाट लडेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले बताए ।

रुखबाट लडेर गम्भीर घाइते उनको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । ३६ वर्षका माझी स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

वडा सदस्यको मृत्युमा दुःख व्यक्त गर्दै गाउँपालिकाले बुधबार शोक विदा दिएको छ ।

प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्