अष्ट्रेलिया पठाइदिन्छु भनेर ९ लाख रुपैयाँ ठगी, एक महिला पक्राउ


 


काठमाडौं, भदौ २२ । अष्ट्रेलिया पठाइदिन्छु भनेर ९ लाख रूपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।

भक्तपुर मध्यपुर थिमि नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–२६ बस्ने ५० वर्षीया रत्न केशरी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शुक्रबार बिहान काठमाडौं महानगरपालिका–२६ सामाखुसीबाट पक्राउ गरेको जनाएको छ ।

उनले ठगी गरेको भन्दै उनीविरूद्ध आशामाया लामाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन्। अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार रत्न केशरीले आशामायालाई २० लाख रूपैयाँमा अष्ट्रेलिया पुर्‍याइदिने भनेकी रहिछन्। त्यही आधारमा उनले ९ लाख रूपैयाँ दिएको र पैसा लिएपछि रत्न केशरी सम्पर्कविहीन भएको उजुरीमा उल्लेख छ।

प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्