जंगली हात्तीले गर्याे २० बिघामा लगाइएको धानबाली नष्ट


 


कञ्चनपुर, भदौ २३ । कञ्चनपुरको शुक्लाफाँटामा हात्तीको बथानले २० विघामा लगाइएको धानबाली नष्ट गरेको छ ।

शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले नष्ट गरेको हो ।

स्थानीय राजबहादुर तमोलीले वर्षभरि खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका बेला जङ्गली हात्तीको बथानले खाएर सखाप पारेको बताए । उनले आफ्नो एक बिघामा लगाएको धानबाली पूरै सखाप पारेको उनले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट शुक्रबार साँझ ७ः०० बजे तिर हात्तीको बथान धानखेतमा छिरेका स्थानीय जया धामीले बताए । उनका अनुसार पछिल्लो तीनदिनयता यसरी जङ्गली शात्ती गाउँ पस्न थालेका छन् ।

वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार जङ्गली हात्तीले धानबालीमा क्षति पुर्‍याउन थालेपछि निकुञ्ज कार्यालयलाई नियन्त्रणका लागि आग्रह गरिएको बताए । नगरपालिकाबाट मेसवायर जडानका लागि बजेटको व्यवस्था हुन नसक्दा प्रदेश र सङ्घ सरकारसँग माग गरिएको वडाध्यक्ष खड्काको भनाइ थियो ।

यसैबीच आज बिहान सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र प्रदेशसभा सदस्य ओमविक्रम भाटले छुट्टाछुट्टैरूपमा धानबालीमा जङ्गली हात्तीले क्षति पुर्‍याएको स्थानको अवलोकन गरेका छन् । मन्त्री धामीसमक्ष स्थानीय बासिन्दाले हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था मिलाउन माग गरेका छन् ।

मन्त्री धामीले मन्त्रालयबाट बजेट विनियोजन गरी मेसवायर जडान हुन नसकेका क्षेत्रमा तत्काल कार्य अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे । निकुञ्ज नजिकैका गर्जमुनि र खजुवा क्षेत्रमा प्रत्येक वर्ष जङ्गली हात्तीले धान, गहुँ, तरकारी लगायतबालीमा क्षति पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्