नेपालको महेन्द्रनगरमा लुकिरहेका छोटा राजनका सहयोगी पक्राउ


 


काठमाडौं, असोज २ । सन् २०११ मा मुम्बईमा पत्रकार ज्योतिरमोय डे (जे डे) को हत्यामा दोषी ठहर गरिएका ग्याङ्गस्टर र छोटा राजनका प्रमुख सहयोगीलाई भारतको उत्तराखण्ड प्रहरीले नेपाल–भारत सीमा नजिकैको चम्पावत जिल्लाबाट पक्राउ गरेको छ ।

जे डे भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार हत्याकाण्डमा सुटरलाई हतियार उपलब्ध गराएका हल्दवनीका ५० वर्षीय दीपक सिसोदिया पक्राउ परेका हुन् ।

उनलाई आजीवन काराबासको सजाय सुनाइएको थियो भने महराष्ट्रको अमरावती जेलमा सजाय काटिरहेका थिए । प्रहरीका अनुसार फरार रहेका उनी नेपालको महेन्द्रनगरमा लुकेर बसिरहेका थिए । आफ्ना परिवारलाई भेट्न भारत आउँदा उनलाई पक्राउ गरिएको हो ।

एसटीफका एसएसपी आयुष अग्रवालका अनुसार गत जनवरीमा ४५ दिनको परोलमा उनी जेलबाहिर थिए । उनी हल्दवनीमा घर आएका बेला मार्चमा फर्किनुपर्नेमा भागेर नेपाल आएका थिए ।

उनका अनुसार प्रहरीले सिसोदिया बनबासा सीमा हुँदै भारत आउने गोप्य सूचना पाएको थियो । त्यसैको आधारमा सीमामा निगरानी बढाइएको थियो । उनलाई नेपालमा सहयोग गर्नेहरूबारे पनि अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्