रास्वपाले १९ जिल्लामा खटायो सांसद र केन्द्रीय नेता, काे कहाँ खटिए ?

काठमाडौं, असोज २ । राष्ट्रिय स्वतन्त्र पार्टीको १९ नेतालाई १९ जिल्लामा खटाएको छ ।
संविधान दिवसको दिन (असोज ३) गतेदेखि सुरु हुने ‘जन आवाज सुन्ने कार्यक्रम’ को पहिलो चरणका लागि सभापति रवि लामिछाने सहित केन्द्रीय सदस्य र सांसदहरुलाई १९ जिल्लामा खटाइएको हो ।
महामन्त्री मुकुल ढकालका अनुसार १९ जना नेता तोकिएको जिल्लाका गाउँमा पुगेर जनआवाज सुन्नेछन् । पहिलो चरण ७ असोजमा सकिनेछ ।
सभापति रवि लामिछाने रोल्पा, उपाध्यक्ष डीपी अर्याल पर्सा, महामन्त्री मुकुल ढकाल कालिकोट, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कञ्चनपुरका गाउँ क्षेत्रमा पुग्ने भएका छन् ।
सांसदहरुमा तनहुँमा डा. स्वर्णिम वाग्ले, कपिलवस्तुमा सन्तोष परियार, रसुवामा शिशिर खनाल, पर्वतमा मनिष झा, वैतडीमा विराजभक्त श्रेष्ठ, कैलालीमा सुमना श्रेष्ठ, डोटीमा डा। तोसिमा कार्की, ओखलढुङ्गामा गणेश पराजुली, सोलुखुम्बुमा हरि ढकाल जाने भएका छन् ।
साथै नेताहरु विपिन आचार्यलाई संखुवासभा, गणेश कार्कीलाई सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताललाई खोटाङ, रमेश प्रसाईलाई सुर्खेत, कमल सुवेदीलाई रौतहट र शंकर श्रेष्ठलाई इलाम तोकिएको छ ।

प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार