मर्जर ‘किङ’ ग्लोबल आइएमई बैंक


 


काठमाडौं । बैंक तथा वित्तीय संस्थाको मर्जरमा इतिहास रच्न सफल ग्लोबल आइएमई बैंक ‘बीग मर्जर’ पछि नेपालकै ठूलो बैंक बन्न सफल भएको छ । विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थासँग मर्जर र प्राप्तिपछि ग्लोबल आइएमई नेपालकै सबैभन्दा ठूलो बैंक बन्न सफल भएको हो ।

सन् २००७ मा ग्लोबल बैंक लिमिटेडको रुपमा स्थापना भएको बैंकले सन् २०१२ जुलाई ९ मा ‘ग’ वर्गको वित्त कम्पनी आइएमई फाइनान्सिएल इन्स्टिट्युसनलाई प्राप्ति गरेपछि ग्लोबल आइएमई बैंक बनेको थियो । १६ वर्षको इतिहासमा बैंकले बजारमा आफूलाई अब्बल सावित गरेर देखाएको यस बैंकका सूचकहरुले बताउँछ ।

बैंकले लगानीकर्तालाई औसतमा १६ प्रतिशत हाराहारीमा लाभांश उपलब्ध गराउँदै आएको बैंकद्धारा जारी तथ्याँकले देखाउँछ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी २५.५० प्रतिशतसम्मको लाभाँश वितरण गरेको थियो ।

ठूलो बैंक र यसको सफलता त छँदैछ । नेपाल राष्ट्र बैंकले ल्याएको मर्जरको नीतिलाई पहिलोपटक कार्यान्वयन गर्ने बैंक नै ग्लोबल आइएमई बैंक हो । वि.सं. २०६८ सालमा तत्कालिन नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले एउटै समूहबाट लगानी भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजाने नयाँ नीति अगाडि सारे । त्यसपछि धेरै बैंक तथा वित्तीय संस्थाहरु मर्जर र प्राप्तिमा जानका लागि तयार भए र प्रक्रियामा अगाडि बढे । यसको पहिलो कार्यान्वयन ग्लोबल आइएमई बैंकबाट हुनपुग्यो । यस मानेमा पनि ग्लोबल आइएमई बैंक नयाँ इतिहास रच्न सफल बैंककोरुपमा दर्ज भएको छ ।

१६ वर्षको अबधिमा यो बैंकले सबैभन्दा धेरै बैंक र वित्तीय संस्थालाई प्राप्ति गरेको छ । बैंक अफ काठमाण्डूसहित विभिन्न २१ बैंक तथा वित्तीय संस्था मर्ज भई बनेको ग्लोबल आइएमई पुँजीको हिसाबले देशकै ठूलो बैंक बन्न सफल भएको छ । राष्ट्र बैंकको अक्टोबर २०२३ सम्मको तथ्याँकअनुसार बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड ११ लाख रुपैयाँ रहेको छ ।

सन् २०१२ जुलाई ९ मा ‘क’ वर्गको ग्लोबल बैंक र ‘ग’ वर्गको आइएमई फाइनान्सिएल इन्स्टिट्युसन एक आपसमा मर्जर भएपछि पनि बैंकको मर्जर र प्राप्तिको क्रम यत्तिकैमा रोकिएन । सन् २०१२ जुलाई ९ मा लर्ड बुद्ध फाइनान्ससँग मर्जर गरी बैंकले एकीकृत कारोबार सुरु ग¥यो । त्यसको केही समयपछि सन् २०१३ जुलाइ १४ मा ‘ख’ वर्गका दुई विकास बैंकहरु शोसल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभिए । पछि सन् २०१४ अप्रिल ९ मा ‘क’ वर्गको कमर्ज एण्ड ट्रष्ट बैंक नेपाल यस बैंकमा गाभियो । मर्जर र प्राप्तिसँगै बैंकले आफ्नो व्यवसायिक सफलता पनि एकपछि अर्काे गर्दै हात पार्दै गइरहेको छ । व्यावसायिक सफलतासँगै सन् २०१४ मा ‘बैंक अफ दि इयर–२०१४’ बाट ग्लोबल आइएमई बैंक सम्मानित भयो । यसैगरी सन् २०१६ ‘बेस्ट इन्टरनेट बैंक–२०१६’ अवार्ड बैंकले हात पार्यो ।

बैंकले व्यावसायिक सफलतामा आफूलाई उत्कृष्ट सावित गर्दै जाँदा मर्जर र प्राप्तिको प्रक्रिया पनि सँगसँगै अगाडि बढाउँदै लगिराख्यो । सन् २०१७ फेबु्रअरी १२ मा ‘ख’ वर्गको विकास बैंक प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडसँग मर्जर गर्यो । त्यही वर्ष २०१७ जुलाई ९ बैंकले ‘ख’ वर्गको रिलायबल डेभलपमेन्ट बैंकसँग अर्काे मर्जर गर्यो । रिलायबल डेभलपमेन्ट बैंक नेपाल कन्जुमर डेभलपमेन्ट बैंक र शुभलक्ष्मी फाइनान्स मिलेर बनेको बैंक हो । खासमा मर्जर र प्राप्ति आफैंमा एकदमै कठिन काम हो । तर बैंक कति पनि विचलित देखिएन । यस बैंकले मर्जर र प्राप्तिलाई एक अवसरको रुपमा लिएर आफ्नो क्षमता विस्तारमा नै लागिरहेको चरणबद्धरुपमा प्रकाशित बैंकका तथ्याँहरुले देखाउँछ ।

सन् २०१८ मा त बैंकले ‘बेष्ट इम्प्लायर अवार्ड–२०१८’ हात पार्यो । सन् २०१९ मा ‘ग’ वर्गको वित्त कम्पनी हाथवे फाइनान्स लिमिटेडलाई बैंकले प्राप्ति गर्यो । सन् २०१९ मा जनता बैंक लिमिटेड ग्लोबल आइएमई बैंकमा गाभियो । जनता बैंक लिमिटेड त्रिवेणी विकास बैंक र सिदार्थ डेभलपमेन्ट बैंक मिलेर बनेको बैंक हो । त्यसमा पनि त्रिवेणी विकास बैंक ब्राइट डेभलपमेन्ट बैंक र पब्लिक डेभलपमेन्ट बैंक मिलेर बनेको हो भने सिदार्थ डेभलपमेन्ट बैंक एकता विकास बैंक र नेपाल आवास फाइनान्स मिलेर बनेको बैंक हो ।

अधिकाँश स–साना बैंक, वित्तीय संस्थासँग मर्जर र प्राप्ति प्रक्रियाबाट सफलता हात पार्दै गएको बैंकले कमर्ज एण्ड ट्रष्ट बैंकलाई मर्जर गरेको अनुभवसँगै सन् २०१९ मा जनता बैंकसँग बीग मर्जरको योजना बनाएको थियो । बीग मर्जरको योजना मुताविक जनता बैंकलाई गाभेर बैंकले ठूला बैंक मर्जरको नयाँ अनुभवसँगै व्यावसायिक सफलता हात पार्दै गयो ।

जनता बैंकसँग मर्जरमा गएपछि तत्कालिन अबधिमा ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार हुँदा ग्लोबल देशकै ठूलो बैंक बन्न पुग्यो । यस बेलाको मर्जरमा पूर्ण सफल भएको बैंकले जनाएको छ । सन् २०२२ मा ‘नेपालको सर्वश्रेष्ठ बैंकिङ अवार्ड’ ग्लोबल आइएमई बैंकले हात पार्यो । मर्जर र प्राप्ति प्रक्रिया अगाडि बढिरहँदा पनि बैंकले आफ्नो व्यवसायिक सफलतालाई उचाइ दिँदै गएको विभिन्न अवार्डहरुबाट सम्मानित हुनुले पनि पुष्टि गर्दछ ।

सन् २०१९ डिसेम्बर ६ अर्थात् २०७६ सालमा जनता बैंकसँग बीग मर्जर गरी सफलता हात पारेको बैंकले २०७९ अर्थात् सन् २०२३ जनावरी ९ मा फेरी अर्काे बीग मर्जर सम्पन्न गर्यो । बैंक अफ काठमाण्डूसँग सन् २०२३ मा बीग मर्जर गरेर ग्लोबल नेपालकै ठूलो ‘क’ वर्गको बैंक बन्न पुग्यो । बैंक अफ काठमाण्डू लिमिटेड लुम्बिनी बैंक र नवदुर्गा फाइनान्स कम्पनीबाट बनेको बैंक हो । योसँगै स्थापनाको १६ वर्षमै २१ बैंक तथा वित्तीय संस्थासँग मर्जर र प्राप्ति गरेर आफूलाई ‘मर्जर किङ’ को रुपमा स्थापित गर्न ग्लोबल आइएमई बैंक सफल भएको छ । बैंकको मर्जर र प्राप्ति धेरै संस्थासँग भयो तर आफ्नो अस्तित्व यथावत राख्दै संस्थागत शुसासन, जनशक्ति व्यवस्थापन, लगानीकर्ताको हितलाई ध्यान दिँदै ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ उत्कृष्ट र विश्वसनीय बैंकको रुपमा अग्रस्थानमा छ ।

बैंकले हाल नेपालभर ३५५ शाखा, ६६ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउण्टर र २७४ शाखारहित बैंकिङ सुविधाहरु संचालन गर्दै आएको जनाएको छ । बैंकले सबै शाखाहरूमार्फत आफ्ना ग्राहकहरूलाई ठूलो दायराको बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले ग्राहकहरूको सुविधाका लागि रणनीतिक रूपमा देश भर ३७६ एटीएमहरूमार्फत सेवा सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

देशभर सेवा विस्तारसँगै ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो सेवा विस्तार गरेको छ । हालसम्म लण्डन (बेलायत), दिल्ली (भारत) र सिड्नी (अष्ट्रेलिया) मा ३ वटा अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयहरुमार्फत बैंकले सेवा दिइरहेको छ । साथै, बैंकले विभिन्न १२ देशमा रिलेसनसिप अफिसर (आरओ) परिचालन गरी आफ्ना उत्पादन तथा सेवा तथा रेमिट्यान्सलाई औपचारिक माध्यमबाट प्रवद्र्धन गर्दै आएको छ । दिगो विकास परियोजना तथा साना तथा मझौला उद्यम (एमएसएमई) को प्रवद्र्धन र सहयोगका लागि ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट (तत्कालीन सीडीसी), इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) र केएफडब्लु डेभलपमेन्ट बैंकजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट ऋण लिएका नेपालका सिमित बैंकहरूमध्ये यो बैंक पनि एक हो ।

बैंकले सबै क्षेत्र र समाजका ग्राहकहरुलाई उच्चस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना प्रवद्र्धकहरु, सञ्चालकहरु, व्यवस्थापन टिम र कर्मचारीहरु माझ नै ‘सबैका लागि बैंक’ भन्ने साझा दृष्टिकोण अगाडि सारेको छ । ग्राहक केन्द्रित गुणस्तरीय उत्पादन तथा सेवाहरु, नवप्रवर्तनात्मक व्यावसायिक समाधान तथा प्रविधिमा आधारित बैंकिङ्गमार्फत सम्मानजनक बजार हिस्सा प्राप्त गर्न हर तरहले लागि परेको बैंकले जनाएको छ । बैंकको वृद्धि र मुनाफामा वृद्धि गरी सबै शेयरधनीहरुलाई सदैव अधिकतम लाभ सुनिश्चित गर्न सकिन्छ भन्ने अवधारणाका साथ सदैव अगाडि बढिरहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्