ओमन पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा एकजना पक्राउ


 


काठमाडौं, चैत १३ । ओमन पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्पा तिनाउ गाउँपालिका–५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका–६ बस्ने ४० वर्षीय बिष्णुबहादुर राना छन् ।

प्रहरीका अनुसार उनले ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाईदिने लगायत विभिन्न प्रलोभन देखाई पीडितलाई भदौ २६ गते काठमाडौंबाट भिजिट भिषामा ओमनको मस्कट शहरमा पुर्‍याएर जबरजस्ती वेश्यावृत्तिमा लगाई शारीरिक तथा मानसिक यातना दिएको आरोप छ ।

पीडितले आफूलाई नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा एजेन्टहरूले २ लाख ५० हजार माग गरेकोमा पीडितको आफन्तले उक्त रकम दिई पीडित नेपाल फर्कन सफल भएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदात पश्चात फरार रहेका रानालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्