प्रशासनिक भवन निर्माण गर्दा १ करोड भ्रष्टाचार, तत्कालीन मेयरसहित ५ जनाविरुद्ध मुद्दा दायर


 


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्दै नगर प्रमुख गंगा पासमानसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन मेयर पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्‍याएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

उच्च अदालत जनकपुरले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगराउन आदेश दिएको थियो ।

त्यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविनकुमार महतोले निर्माणस्थलको व्यवस्था नभइ भवन बनाउनको लागि सम्झौता गरेको र निर्माण कम्पनीलाई पेश्की रकम दिएको अख्तियारले दाबी गरेको छ ।

निर्माण व्यवसायी महालक्ष्मी/पाण्डे एण्ड कम्पनी/ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवले कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि पेश्की लगेर काम सुरू नगरेको अख्तियारको भनाइ छ ।

अदालतको आदेशसमेत नमानी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्‍याएको भन्दै अख्तियारले सबै प्रतिवादीलाई १ करोड ८ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना गर्नुपर्ने दाबी गरेको छ ।

प्रकाशित मिति: १४ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्