समस्याग्रस्त २० सहकारी, आफैँ सञ्चालक आफैँ ऋणी


 


काठमाडौँ । सङ्घीय सरकार मातहत दर्ता भएकामध्ये २० सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरिएको छ । गलत तरिकाले ऋण प्रवाह, आर्थिक अनियमितता र सर्वसाधारणको सेयर र बचतको चरम दुरुपयोगकै कारण यी सहकारी संस्था समस्याग्रस्त बनेका पाइएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाको सूचीमा पछिल्लो पटक गौतमश्री बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि थपिएको छ ।

२० मध्ये दुई दुई वटा सहकारी संस्थाको सञ्चालक पनि एउटै व्यक्ति रहेको खुलेको छ । यी २० वटै सहकारी संस्थाबाट झन्डै १७ अर्ब रुपियाँ अपचलन भएको छ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १३ करोड रुपियाँ लगानी गराउने फरार अभियुक्त गितेन्द्रबहादुर राईले अर्को सहकारी संस्था पनि डुबाएका छन् ।

सरकारले २०७५ असार १८ गते खुशचन्द्र श्रेष्ठ अध्यक्ष रहेको कुबेर बचत तथा ऋण सहकारी संस्था लमिटेड र प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

त्यसै गरी राजु श्रेष्ठ अध्यक्ष रहेको स्ट्यान्डर्ड मल्टिपर्पोज कोअपरेटिभ लिमिटेड र चार्टर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडलाई २०७५ असार १८ गते नै समस्याग्रस्त घोषणा गरेको थियो । गोरखापत्रबाट

प्रकाशित मिति: ९ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्