रेशम चौधरीले आज सांसदको सपथ लिँदै


 


काठमाडौं – कारागारमा रहेका रेशम चौधरीले बिहीबार सांसदको सपथ ग्रहण गर्ने भएका छन् ।

कैलालीको टीकापुरमा आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा कारागारमा रहेका चौधरीेलाई बिहीबार सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ गराउने संसद सचिवालयले जनाएको छ ।

बिहान साढे ११ बजे सिंहदरबारमा रहेको सभामुखको कार्यकक्षमा चौधरीलाई सपथ गराइने सभामुखका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिनुभयो । चौधरी सपथ ग्रहणपछि कारागार नै चलान हुनेछन् । चौधरीको दल राजपाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर चौधरीको सपथ गराउन दबाब दिइरहेको थियो ।

प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर एकबाट प्रत्यक्ष चुनिएका चौधरी चुनावअघि देखि नै भूमिगत थिए । चौधरीले पछि अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।

२०७२ साल भदौ ७ गते थरुहट प्रदेशको माग गर्दै कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा आठजनाको ज्यान जानेगरी भएको घटनामा चौधरी मुख्य योजनाकार रहेको आरोप लागेको छ ।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने र एक नाबालकसहित आठजनाको ज्यान गएको थियो । टीकापुर घटनाका दोषी रहेको आरोप लागेका २७ जना कैलाली कारगारमा तीन वर्षदेखि कारागारमा छन् ।

प्रकाशित मिति: १९ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्