रेशमलाई सपथ खुवाउन बाध्य पार्ने कांग्रेस


 


पोखरा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले परिवर्तनको अनुभूति दिनेगरी सरकारले लय समात्न नसकेको स्विकारेका छन् । शनिबार पोखरामा नेकपा गण्डकीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सरकार सञ्चालन गर्ने पार्टी, नेता र वातावरण सबै अनुकूल हुँदाहुँदै पनि केही नमिलेको बताएका हुन् ।

सरकारको कामलाई गीतसँग तुलना गर्दै उनले ‘कम्पोज गर्ने मान्छे पनि राम्रो, गीत गाउने मान्छे पनि राम्रो र सबै राम्रो हुँदाहुँदै पनि लय नमिल्दा समस्या आएजस्तै’ भएको टिप्पणी गरे । ‘गाउने मान्छे पनि यत्तिकोले रामै्र गाउँछ भन्नेछ । बजाउने पनि राम्रै बजाउँछ । गेडा(शब्द) पनि राम्रा छन् । तर के मिलेन–मिलेन’ उनले भने,‘गीत राम्रो सुनिएन लय मिलेन ।’ मन्त्री पोखरेलले थपे,‘यस्तो बेला एक थरीले गीत गाउने र बजाउने बेला हल्ला भयो भनेर बहाना पनि बनाउन सकिन्छ, अर्को थरीले गीत राम्रो भए हल्ला गर्नेहरुले पनि राम्रो गीतले गर्दा चुप लाग्छ भन्न सक्छन्, अहिले सरकार सञ्चालनको क्रममा देखिएको यही हो ।’

सम्हालिएर बोल्न र व्यवहार गर्न आग्रह

मन्त्री पोखरेलले सरकारले यतिबेला सरकार मात्र नभई व्यवस्था नै परिवर्तन भएकाले यसलाई संस्थागत गर्ने कुरा गम्भिर भएको बताए । त्यस अनुरुपका संरचना र कानून अभावले देखिनेगरी काम गर्न नसकेको बताए । उनले हिजोको प्राणालीसँग गाँसिएका विषयहरु अहिले प्रतिस्थापन नहुँदासम्म अवस्था सहज नरहेको बताए । यस्तो बेला कम्युनिस्टको बदनाम गर्ने तत्व सलबलाएको उनको आरोप छ । ‘अहिले बदनाम गरियो भने यसको नजिर नराम्रो बस्छ अनि यसैलाई देखाएर वषौंसम्म पेल्न पाइन्छ भन्ने उनीहरुको निष्कर्ष छ, हामी त्यस्तो हुन दिनेवाला छैनौं, राम्रो नगर्ने छुट हामीसँग छैन’, उनले भने, ‘यस्तोबेला पार्टीको नेतृत्वदेखि तल्लो तहका कार्यकर्ता सबैले बडो सम्हालिएर बोल्नुपर्छ, प्रतिकृया दिनुपर्छ र त्यस अनुरुपको व्यवहार गर्नुपर्छ, नत्र हामी भित्रैका विपक्षीले खेल्छन् ।’

वाइडबडीसँग जोडेर बदनाम गर्ने प्रपञ्ज

मन्त्री पोखरेलले वाइडबडीका सन्दर्भमा लेखा समिति अन्तर्गत बनाइएको उपसमितिले जारी गरेको प्रतिवेदनलाई ‘फूल’ समितिले जारी गरेजस्तो प्रचारप्रसार गरिएको भन्दै अपत्ति जनाए । प्रतिवेदन बदनियतपूर्ण छैन भन्न नसकिने उनकोे उनको टिप्पणी छ । उनले कम्युनिस्ट पार्टीको सरकारलाई बदनाम बनाउने उद्देश्यले प्रतिवेदन आएको भए प्रतिवाद गरिने बताए । सरकारले यसको सत्यतथ्य छानविनका लागि स्वतन्त्र आयोग बनाएको भन्दै उनले दोषी देखिए आफ्नो पार्टीको वा अरु कोही भनेर छूट नहुने प्रष्टाए ।

सपथ खुवाउन बाध्य पार्ने कांग्रेस हो

मन्त्री पोखरेलले टीकापुर घटनाका मुख्य दोषी मानिएका रेशम चौधरीलाई सपथ खुवाउने मार्ग प्रमुख प्रतिपक्षी दलले खोलिदिएको बताए । ‘फौजदारी अभियोग लागेपछि सर्वजनिक ओहोदामा बस्न नमिल्ने र विदाइ गर्नुपर्छ भन्ने तत्कालिन एमालेको अडान थियो,’ उनले भने,‘त्यतिबेला पार्टी एकता नहुँदा हाम्रो भ्वाइस कमजोर बन्यो, अब अभियोग प्रमाणित हुनुपर्ने विषयमा सहमति भयो । अभियोग अदालतमा छ । उम्मेद्वारको हिसावले चुनाव लड्ने, चुनाव जित्ने, प्रमाणपत्र संसदमा आउने । यस्तो अवस्थामा संसदमा भएको समझदारी अनुरुप नै रेशम चौधरीलाई सपथ खुवाइएको हो, हामीलाई किन भनेर प्रश्न गर्ने विपक्षीले त्यतिबेला आफूले गरेको कर्मको विश्लेषण गरोस् ।’

प्रकाशित मिति: २१ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्