प्रचण्ड पत्नी सीताको उपचार खर्च अमेरिकास्थित नेपाली दूतावासले बेहोर्ने,…


 


काठमाडौं, ४ चैत
प्रचण्डले आफ्नो सम्पत्तिको नाममा चितवनमा दुई कठ्ठा जग्गा र तीन तोला सुन रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेका थिए । उनी अहिले ललितपुरको खुमलटारस्थित भव्य बंगलामा बस्छन् । करोडौं मूल्यका गाडी चढ्छन् ।

सिंगापुर, नयाँ दिल्लीमा पत्नी सीता दाहालको उपचार गरिसकेका छन् । जसमा लाखौं रुपैयाँ खर्च भएको छ । अहिले सीताको उपचार गराउन प्रचण्ड अमेरिका पुगेका छन् । आफ्ना साथमा छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई लगेका छन् ।

प्रचण्ड परिवार अमेरिकामा रहँदा दुई सातासम्मको खर्च र सीता दाहाललाई लाग्ने उपचार खर्च कसले बेहोर्ने भन्ने विषयमा अहिले व्यापक चासो बढेको छ । प्रचण्ड अहिले सरकारी पदमा छैनन् । यद्यपि उनी पूर्वप्रधानमन्त्रीको हैसियतमा छन् । सीताको उपचार प्रचण्ड परिवार आफैंले गर्नुपर्नेमा अमेरिकास्थित नेपाली दूतावासले बेहोर्ने भएको बताइन्छ । दूतावास भनेको सरकारी कार्यालय हो । दूतावासले खर्च गर्ने पैसा नेपाल सरकारकै हो । यस आधारमा सीताको उपचार नेपाल सरकारले बेहोर्ने भएको छ ।

अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्की छन् । उनकै अग्रसरतामा सीताको उपचारका साथै प्रचण्ड परिवारको अमेरिका बसाईको सबै खर्च दूतावास आफैंले बेहोर्ने भएको छ । कार्कीलाई हालै मात्र सरकारले मन्त्रीसरहको हैसियत प्रदान गरेको थियो ।

सीताको जोन हप्किन्स् अस्पतालमा प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) को उपचार गरिने जनाइएको छ । अमेरिकाको न्यासनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल डिसअर्डर एण्ड स्ट्रोक (एनआईएनडीएस) का अनुसार, पीएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार हो, जसले शरीरको गति, हिँडाइको सन्तुलन, बोल्ने, निल्ने, हेर्ने प्रक्रिया साथै मनोदशा र सोचलाई समेत प्रभावित बनाउँछ ।

मस्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँछ । यो रोग हरेक एक लाखमा तीनदेखि ६ जनासम्मलाई हुन्छ । सामान्यतः पीएसपीको लक्षण ६० वर्षको उमेर पुगिसकेका व्यक्तिहरूमा देखिने गरेको भए पनि कसैकसैलाई यो रोगले चाँडै पनि समात्न सक्छ ।

व्यक्तिअनुसार लक्षणहरू फरक फरक हुने भए पनि अधिकांशमा हिँड्दा शरीरको सन्तुलन मिलाउन गाह्रो हुने सुरुवाती लक्षण देखिन्छ । त्यसपछि विस्तारै दृष्टिमा समस्या आउने, आँखाको गतिविधि सुस्त हुने हुन्छ । रोग बढ्दै जाँदा मानिसको मनोदशा अस्थिर हुने, अवसाद र उदासी बढ्ने, कुनै कुरामा पनि रुचि नहुने हुन्छ ।

रोगले च्याप्दै लग्दा ठोस वस्तु निल्न गाह्रो हुने, अनुहारमा एकै प्रकारको भाव रहने र बढ्दो उमेरसँगै अल्जाइमर्स र पार्किन्सन्सका जस्ता समस्या समेत आउने चिकित्सकहरूको भनाइ छ । एनआईएनडीएसका अनुसार, यो रोग निको पार्ने औषधि अहिलेसम्म बनिसकेको छैन ।

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्