गाउँबाट बसाइ सर्नेको लर्को : जन्ती र मलामीको अभाव बसाइ सर्नेको तथ्याङ्क छैन


 


बागलुङ, १० जेठ । बसाइँसराइकै कारण केही वर्ष पहिलासम्म खचाखच रहेका गाउँ रित्तिएका छन् । ठूलो दूरीमा रहेका केही घरमा बस्नेहरुलाई जिउँदाको जन्ती र मर्दाको मलामी पाउनसमेत कठिन हुने गरेको छ ।

“बागलुङका गाउँबाट बसाइँ सर्नेको ठूलै लर्को दखियो, अलिअलि भएका युवापुस्ता विदेशमा, गाउँमा केटाकेटी र बूढाबूढीमात्रै”, जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्र भट्टराईले भने, “शहर र सुगम खोज्नेका कारण गाउँ रित्तिएका रहेछन् ।”

कुनै बेला गाउँमा सानो कार्यक्रमको आयोजना हुँदासमेत कयौँ युवाको लर्को लाग्ने ठाउँमा अहिले जन्ती र मलामीकै अभाव रहेको बागलुङ नगरपालिका–११ रायडाँडाका रामबहादुर केसीले बताए । “गाउँमा केही बस्न मान्दैनन्”, केसीले भने, “कोही मधेश पसे, कोही ठूला शहरमा ।” बसाइँसराइले गाउँ रित्ताएको र विद्यालयजस्तो शिक्षाको मन्दिर सुनसान बनाएको उनले गुनासो गरे ।

बसाइ सर्नेको तथ्याङ्क छैन
बसाइँसराइका कारण जिल्ला छोडर हिँड्नेको आधिकारिक तथ्याङ्क भने छैन । गाउँमा रहेको जग्गाजमीन यत्तिकै छाडेर बसाइँ सर्नेको सङ्ख्या निकै उच्च छ । जग्गा जमीन बिक्री गरेर जानेको तथ्याङ्क वडा कार्यालय तथा पालिकामा रहने भए पनि बिक्री नै नगरी बसाइँ सर्नेहरुको तथ्याङ्क राख्न कठिन हुने गरेको बागलुङ नगरपालिका–११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । “हाम्रो सानो वडामा यसै वर्ष मात्रै १५ घर खाली भए”, गौतमले भने “तर हामीसँग तथ्याङ्क छैन् ।”

पछिल्लो समय वैदेशिक रोजगारीले बसाइँसराइको क्रम बढाएको जानकारहरु बताउँछन् । “विदेशमा कमाएको रकमले घडेरी किन्ने, घर बनाउने र बसाइँ सर्ने गरेको पाइन्छ”, गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले भने “सुगम र सहजता खोज्नेको सङ्ख्या बढ्दै गएको छ ।” बसाइँसराइको मुख्य कारण रोजगारीको अवसर अभाव भएको सापकोटाले औँल्याए । उनले प्रशस्त रोजगारीको अवसर सिर्जना गरेर गाउँमै बस्ने वातावरण बनाउनु अहिलेको चुनौती भएको बताए ।

प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्