प्रचण्डलाई ओलीको जवाफ : एक वर्ष होइन, चार-पाँच दिनमै छाडिदिउँला


 


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारत गएको समयमा सत्तारुढ दल नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सहमति अनुसार आफूलाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताए । उनले एउटा टेलिभिजनसँगको अन्तवार्ताका क्रममा अबको १५ महिनापछि सत्ता हस्तान्तरण गर्नुपर्ने बताएलगत्तै एकताका बेला भएको गोप्य सहमति सार्वजनिक गरियो।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री दिल्लीमा भएकाले बेला असन्तुष्टिसहितको राजनीतिक सन्देश प्रचण्डले पठाएपछि नेकपाभित्र एकाएक तरङ्ग आएको छ। एकतासमेत नटुंगिएको अवस्थामा प्रचण्डले सत्ताको कुरा गरेपछि दिल्लीबाटै प्रधानमन्त्रीले आक्रोश पोखेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथमा भाग लिएपछि शुक्रबार नेपाल फर्किनुअघि दिल्लीस्थित सञ्चारकर्मीहरुसँग बोल्दै ओलीले प्रचण्डलाई जवाफ फर्काएका हुन्। पूर्वसहमति अनुसार १५ महिनापछि प्रधानमन्त्री ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्नुपर्ने सन्देश प्रचण्डले दिएपछि ओलीले आज भोली नै सत्ता छाड्न तयार रहेको जवाफ दिएका हुन्।

ओलीले दिल्लीबाटे सहमति पुरानो भएको प्रतिक्रिया दिएका छन् । ‘आलोपालो सहमतिमा सरकार चलाउने कुरा पुरानो भइसक्यो’, ओलीले दिल्लीस्थित सञ्चारकर्मीसँग भने, ‘पुरानो अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै हो। आलोपालोको कुरा पुरानै हो।’ पार्टी एकता क्रममा भएको सहमतिलाई पुरानो भनेका ओलीले प्रचण्डले भनेकै समयमा सत्ता छाड्ने या नछाड्ने विषयमा भने मुख खोलेनन्। दिल्लीमा सञ्चारकर्मीहरुले, ‘तपाईंको प्रधानमन्त्री पद एक वर्ष मात्रै बाँकी छ नि ? भनेर सोधेका थिए।

‘कहाँ एक वर्ष ? ४-५ दिन मात्रै बाँकी छ। आजै भोली छाडिदिउँला’, ओलीले भने। प्रचण्डले सहमतिबाट पछि हटे कोही नटिक्ने चेतावनी दिएको विषयलाई ओलीले भने मजाकका रुपमा हाँसेर टारिदिए। अध्यक्ष दाहालले पार्टी अध्यक्षमा आफूलाई एकल भूमिका दिए पाँच वर्ष ओलीलाई पाँच वर्षसम्म प्रधानमन्त्री बनाउन तयार रहेको बताउँदै आएका छन्। एक टेलिभिजनसँग अन्तरवार्ता दिने क्रममा बिहीबार प्रचण्डले सहमति कार्यान्वयनमा शंका नगरेको जिकिर गरे। उनले ओली सहमतिमा खरो उत्रिने पनि बताएका थिए। तर दिल्लीबाटै ओलीले सहमति पुरानो भइसकेको बताएपछि नेकपा भित्रको राजनीति पेचिलो बन्‍ने अवस्थामा पुगेको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्