नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित


 


काठमाडौँ, वैशाख १६ । वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ ।

पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १–१ को बराबरी गरेको हो ।

पाहुना टोली वेस्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्का सहित ७१ रन बनाएपनि जित भने दिलाउन सकेनन् । पाचौं ओभरमा क्रिजमा पुगेका रोहितले अन्तिमसम्म रहेर टोलीलाई जित दिलाउने प्रयास गरेका थिए । तर अन्य ब्याटरको साथ पाउन नसक्दा उनले टोलीलाई पार लगाउन सकेनन ।

अन्तिम दुई ओभरमा २६ रन चाहिएकोमा नेपालले ओबेद म्याककोयको १९औ ओभरमा ९ रन बनायो । अन्तिम ओभरमा १७ रनको आवश्यकता रहेको थियो । तीब्र गतिका बलर म्याथ्यु फर्ड अन्तिम ओभर बलिङ गर्न आएका थिए ।

पहिलो बलमा रोहितले कुनै रन बनाउन सकेनन । दोस्रो बलमा भने उनले चौका प्रहार गरे । तेस्रो बलमा २ रन लिने क्रममा आकाश चन्द रन आउट हुन पुगे । चौथो बलमा सागर ढकालले रोहितलाई स्ट्राइक दिए । २ बलमा ११ रन चाहिएको अवस्थामा रोहितले दुवै बलमा रन बनाउन नसकेपछि नेपाल पराजित हुन पुग्यो ।

नेपालका शीर्षक्रमका ब्याटरको प्रदर्शन आज पनि सम्झनालायक रहेन । तेस्रो ओभरको पहिलो बलमा ओपनर लोकेश बम चोटका कारण मैदानबाट बाहिरिन पुगे । पुल शट खेल्ने क्रममा उनको खुट्टामा चोट लागेको थियो । उनी १२ बलमा १७ रन बनाएर खेलिरहेका थिए । सोहि ओभरको चौथो बलमा अर्का ओपनर कुशल भुर्तेल आउट हुन पुगे । उनी २ रन बनाएर ओबेद म्याककोयको बलमा जोनसन चार्ल्सद्वारा क्याच आउट भएका थिए ।

अनिल शाह १ रन बनाएर पाचौँ ओभरको चौथो बलमा आउट भए । ओसेन थोमसको बलमा उनी विकेटकिपर आन्द्रे फ्लेचरद्वारा क्याच आउट भएर पेभेलियन फर्किए ।

त्यसपछि लोकेश पुनः फर्किए । तर उनले कुनै रन थप्न सकेनन । १६ बलमा १७ रन नै बनाएर गुडाकेश मोतीको बलमा उनी ठुलो शट खेल्ने क्रममा बोल्ड आउट भए । त्यसलगत्तैको बलमा कुशल मल्ल शुन्यमा रनआउट भए । पहिलो खेलमा पनि रनआउट हुँदै पेभेलियन फर्किएका उनी आज भने पहिलो बलमा नै आउट भएका थिए ।

नवौ ओभरमा गुलशन झालाई वेस्ट इन्डिज ‘ए’का कप्तान रोस्टन चेजले बोल्ड गरे । राम्रो सुरुवाट पाएका गुलशनले आउट हुनुअघि ११ बलमा ३ चौका र २ छक्का सहित २६ रन बनाउन भ्याए ।

सातौ नम्बरमा क्रिजमा पुगेका आरिफ शेखले पनि सम्झनलायक प्रदर्शन गर्न सकेनन । छैठौं विकेटका लागि कप्तान रोहित पौडेलसँग ४३ रनको साझेदारी गरेपनि उनी १६ बल खेल्दै १२ रन मात्र बनाएर १५औ ओभरमा मोतीको शिकार बन्न पुगे ।

१६औ ओभरको तेस्रो बलमा दीपेन्द्र पनि सस्तैमा आउट हुन पुगे । ५ बलमा ३ रन बनाएर उनी म्याककोयको बलमा चेजद्वारा क्याच आउट भए । सोमपाल कामीले पनि ५ बल खेल्दै ३ रन मात्र बनाउन सके । उनी १८औ ओभरको पाचौं बलमा रनआउट भएका थिए ।

वेस्ट इन्डिजका लागि ओबेद म्याककोय र गुडाकेश मोतीले समान २–२ विकेट लिए । यस्तै ओशेन थोमस र रोस्टन चेज १–१ विकेट लिन सफल भए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले १ सय ६० रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए । यस्तै गुडाकेश मोती इनिङको अन्त्य तिर आक्रामक केहि आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र ४ छक्का सहित ३३ रनमा अविजित रहे । म्याथ्यु फर्ड ६ बलमा ११ रन बनाएर नटआउट रहे ।

सुरुवात देखि नै लगातार अन्तरालमा विकेट गुमाएको वेस्ट इन्डिजले पहिलो खेलमा जस्तो आक्रामक ढंगले ब्याटिङ गर्न भने सकेन ।

आजको खेलमा टोलीमा आएका सागर ढकालले नेपालका लागि आफ्नो पहिलो ओभरमै दुई विकेट लिँदै राम्रो सुरुवात दिलाएका थिए । पहिलो खेलमा राम्रो सुरुवात दिलाएका ओपनर एलिक अथान्जे तेस्रो ओभरको दोस्रो बलमा ६ रन बनाएर कुशल मल्लद्वारा क्याच आउट भएका थिए । यस्तै सोहि ओभरको पाचौ बलमा सागरले अर्का ओपनर जोनसन चार्ल्सलाई ११ रन बनाएको अवस्थामा बोल्ड गर्दै पेभेलियन फर्काए ।

तेस्रो र चौथो नम्बरमा क्रिजमा पुगेका आन्द्रे फ्लेचर र कप्तान रोस्टन चेज मिलेर तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे । सो साझेदारी कुशल भुर्तेलले तोडेका थिए । चेज २२ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाएर १०औ ओभरको अन्तिम बलमा कुशलद्वारा बोल्ड भएका थिए ।

१४औ ओभरमा केसी कार्टीलाई आउट गर्दै कुशलले नै नेपाललाई चौथो सफलता दिलाए । केसी १६ बलमा १० रन बनाएर नेपालका कप्तान रोहित पौडेलद्वारा लङ–अनमा क्याच आउट भएका हुन् ।

पाचौँ सफलता सोमपाल कामीले १७औ ओभरको पहिलो बलमा दिलाए । पाचौ विकेटका रुपमा किमो पल १० बलमा ८ रन बनाएर सोमपालको बलमा बोल्ड भए । १८औ ओभरमा हेडन वाल्सलाई ९ रनमा रोहितले रनआउट गराए । उनले ७ बल खेल्दै २ चौका प्रहार गरेका थिए ।

सोहि ओभरमा फ्लेचर पनि आउट भए । उनलाई दीपेन्द्र सिंह ऐरिले लङ–अफमा कप्तान रोहितद्वारा क्याच आउट गराए ।

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान २–२ विकेट लिए । सागरले ४ ओभरमा १९ रन दिए भने कुशलले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिए । दीपेन्द्र सिंह ऐरिले ३ ओभरमा १ विकेट लिँदै ३९ रन खर्चिए । सोमपाल कामिले २ ओभरमा १८ रन खर्चेर १ विकेट नै लिए ।

आकाश चन्दले ३ ओभरमा ३९ रन दिँदै कुनै विकेट लिएनन् भने कुशल मल्लले पनि ४ ओभरमा २३ रन दिँदा कुनै विकेट लिएनन् ।

प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्