राजधानी रहेको उपत्यकाका लागि खानेपानी मन्त्रीको अर्को प्रसंशनीय उद्घोष


 


काठमाडौ । खानेपानी मन्त्री बिना मगरले राजधानी काठमाडौ रहेको उपत्यकाका लागि अति नै प्रशंसनीय उद्घोष गर्नुभएको छ । उपत्यका भित्र संकटमा रहेका मौलिकता र संस्कृतीको धरोहर ताल तलैया, पोखरी र ढुंगेधाराको संरक्षण, सम्बर्द्धन र सौर्न्दयीकरणमा योजना बनाएर अघि बढिने बताउनुभएको हो ।

यो राष्ट्रिय गौरवकै कुरा हो । नेपालको राजधानी रहेको उपत्यकाका ताल तलैया, पोखरी र ढुंगेधाराहरु विदेशी पहुनाहरुको क्यामेराको लेन्समा समेत अट्दै आएका छन् । यसले पानीको स्रोत मात्र संरक्षण गर्दैन सहरको सौन्दर्य समेत बढाउनेछ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) द्वारा प्रकाशित भएको काठमाडौं उपत्यका भित्रका पुराना ढुङगे धारा तथा पोखरीहरुको लगत – नक्साङकन सम्बन्धि पुस्तकको बिमोचन गर्दै खानेपानी मन्त्री मगरले नास हुँदै गइरहेको पोखरी र ढुंगेधाराको संरक्षण र सम्बर्द्धनमा योजनासहित अघि बढिने बताउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, आधुनिकताले हाम्रो प्राचीन सभ्यता झल्काउने कलात्मक ढुंगेधारा र पोखरीहरु मासिदै गैरहेका छन् । सहरीकरणका कारण हाम्रो जीवन्त कला, संस्कृति लोप भएका छन् । अब यसलाई सम्भाव्यता अध्ययन गरेर यसको संरक्षणमा जोड दिनु आवश्यक छ ।

ढुंगेधारा र पोखरीको संरक्षण र सौन्दर्यीकरण गरेर पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिने मन्त्री मगरको भनाइ छ । काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा र पोखरीहरुको बारेमा लगत तथ्यांक संकलन गरि पहिलोपटक यस्तो पुस्तक तयार भएको हो ।

काठमाडौं उपत्यका भित्रका १० वटा नगरपालिका क्षेत्र भित्र रहेका ढुंगेधारा तथा पोखरीहरुको स्थलगत रूपमा अध्ययन तथा अनुसन्धान गरि सो को विस्तृत लगत संकलन गरि पुस्तक तयार गरिएको छ ।

जसमा उपत्यका भित्र रहेका २ सय ३३ पोखरीहरु मध्ये स्थलगत रूपमा भेटिएका पोखरीको संख्या १ सय ९३ रहेको पुस्तकमा उल्लेख छ । त्यस्तै ४० वटा पोखरीहरु लोप भएका छन् ।

यसैगरी उपत्यका भित्र अध्ययनका क्रममा ५ सय ७३ ढुंगेधाराहरु संकलित गरिएकोमा स्थलगत रूपमा भेटिएका ढुंगेधाराहरुको संख्या ४ सय ७९ वटा, मासिएको ढुंगेधाराको संख्या ५२ वटा र पत्ता नलागेको ढुंगेधाराको संख्या ४२ वटा रहेका छन् ।

१० वटा नगरपालिका क्षेत्र भित्र रहेका ४ सय ७९ ढुंगेधारा मध्ये अध्ययनको क्रममा १ सय ७१ वटा ढुंगेधारामा मात्र पानी बगेको पाइएको अध्ययनले देखाएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्