श्रीमतीलाई गर्भवती बनाएर अर्को विवाह



– विपुल अधिकारी
पाँचथर । अन्तरजातीय विवाह गरी श्रीमतीलाई गर्भवती बनाएर बेपत्ता भएपछि पाँचथरको याङवरक गाउँपालिका–४ की प्रमीला सिवाको बिजोग भएको छ । एक वर्ष अघि सिदिङ्बा गाउँपालिका–४, साब्लाखुका विजय ताम्लिङ लिम्बूसँग अन्तरजातीय विवाह गरेकी सिवाको गर्भवती बनाएर लिम्बूले अर्को विवाह गरेपछि बिचल्ली भएको हो ।

आर्थिक अवस्था कमजोर भएकी प्रमीलाको कोखबाट मङ्गलवार पाँचथर अस्पतालमा छोरीको जन्म भएपछि सुत्केरी सिवाको हेरचाह गर्ने मान्छेसमेत छैन । अहिले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । सिवालाई झुक्क्याएर श्रीमानले दोस्रो विवाह गरेपछि माइती थर्पुमा बस्दै आएकी उनलाई स्थानीय स्वयंसेविकाले जिल्ला अस्पतालसम्म ल्याइदिए ।

ताप्लेजुङको सिदिङ्बा गाउँपालिका–४ को साप्लाखुमा विवाह गरे पनि श्रीमान् र सासू–ससुरासँगै झापाको काँकडभिट्टामा बस्दै आएकी प्रमीलाले विवाहपछि श्रीमानको घरपरिवार र आफन्तजनबाट नै अन्तरजातीय विवाह गरेकै कारण दुर्व्यवहार र शारीरिक यातना खेप्नुपरेको सिवाले बताइन ।

गएको पुस महिनामा श्रीमान्ले अर्कै केटीसँग दोस्रो विवाह गरेको र त्यसपछि आफूसँग सम्पर्कमा नरहेको भन्दै त्यसपछि घरका अन्य सदस्यको दुर्व्यवहार र शारीरिक यातना खप्न नसकेर आफू माइतमै बस्न थालेको उनको भनाइ छ । माइतीको समेत आर्थिक अवस्था कमजोर रहेकी प्रमीला अहिले जिल्ला अस्पताल फिदिमको प्रसूति गृहमा छन् । उनको हेरचाहका लागि कोही छैन । आमा पनि शारीरिकरूपमा अशक्त र बुबा पनि वृद्ध छन् ।

कक्षा आठमा अध्ययन गर्दा सिवा र लिम्बूबीच प्रेम सम्बन्ध सुरु भएर कक्षा ११ अध्ययन गर्दागर्दै अन्तरजातीय विवाह भयो । गर्भवती हुँदा सबैले बच्चा फाल्न आग्रह गरे पनि आफूले सन्तानलाई धर्ती देखाउने आशाले कसैको कुरा नमानेको उनी बताउँछिन्। गाउँपालिकामा सहयोगको याचना गर्न जाँदा गाउँमा पैसा उठाएर गर्भपतन गराउनू भन्ने जवाफ आएको उनको भनाई छ । तर पनि सङ्घर्ष गरेर आफूले पेट पालेको र आमा बुबाको सेवा गरेको उनले बताईछन । उनी भन्छिन्–“मलाई नभएपनि छोरी हेर्न जसरी आउनुहुन्छ । छोरीको माया लाग्नुपर्ने हो । एक दिन छोरीको मुख हेर्न जसरी पनि आउनुहुन्छ ।”

आफूले गर्भ परीक्षण गराउनसमेत पैसा नपाएको उनले गुनासो गरिन् । “भिडियो एक्सरे गराउन आठ सय रुपैयाँ नहुँदा गर्भको अवस्था थाहा पाउन सकिनँ तर, छोरी जन्माएँ । केही भएन, म खुसी छु”, उनी भन्छिन्, “अन्तरजातीय विवाह गरेकै कारण लिम्बूका फुपूहरूले दलित केटीसँग विवाह किन गरेको यसलाई छाडिदे हामी अर्की केटी खोजिदिन्छाँै भनेपछि मलाई छोड्नुभयो । छोरी जन्मिएकी छे, उसलाई हेर्न उसको बुबा जसरी पनि आउनुहुन्छ ।”

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News