नेपाली कांग्रेस किन सभामुखप्रति आक्रामक हुँदैछ ?


 


काठमाडौं । “नेपालको संसदीय इतिहासमा यति कमजोर, यति डरपोक, यति काँतर सभामुख पहिलोचोटी देखेको हुँ । धेरै सभामुखहरु भएका छन् । उनीहरुले सत्तापक्षको जस्तो व्यवहार कहिल्यै गरेनन् बरु विपक्षीको भूमिकालाई बढी महत्व दिए,” गत वैशाख २५ गते सभामुख कृष्णबहादुर महराविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसरी आक्रोश पोखे ।

उनीमात्रै होइन, सभामुखले आफ्नो मर्यादा कायम गर्न नसकेको, प्रतिपक्ष दलका नेतालाई दिनुपर्ने समय नदिएकोलगायतका आरोप कांग्रेसका कतिपय नेताहरुले लगातार लगाइरहेका छन् । मंगलबार संसद्मा भएको घटना पनि सभामुखकै कमजोरीका कारण भएको भन्दै प्रमुख प्रतिपक्ष आक्रोशित बनेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको प्रेस विज्ञप्ती होस् या प्रमुख सचेतक बालकृष्ण खाँणले जारी गरेको होस् या प्रभावशाली नेताले दिएको अभिव्यक्ति सरकारजत्तिकै सभामुखको पनि आलोचना भइरहेको छ ।

प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ती जारी गर्दै संसदीय मर्यादाप्रति सभामुख महरा अनुत्तरदायी भएको आरोप लगाए । सभामुखले आफ्ना सांसदहरुले बोल्दा समय नपुग्दै माइक काटिदिएको, प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर प्रतिपक्षीलाई हप्काउँदा मौन बसेको र संसद् सञ्चालनमा क्षमता देखाउन नसकेको आरोप कांग्रेसले निरन्तर लगाउँदै आएको छ ।

“प्रतिपक्ष, जनप्रतिनिधि र जनताले उठाएका जनअधिकारका कुराहरुलाई कुण्ठित गर्न र संविधानका प्रावधानहरुलाई उल्लंघन गर्दै संविधान प्रतिकूल कानुन बनाउन सत्तापक्ष अगाडि बढिरहेको छ ,” प्रधानमन्त्रीप्रति आक्रोश व्यक्त गर्दै कांग्रेसले भनेको छ ।

सभामुखको भूमिकामाथिनै प्रश्न उठाउँदै कांग्रेसले निरन्तर सभामुखको विरोध किन गरिरहेको छ त ? कांग्रेसका सांसद मीन विश्वकर्मा भन्छन्, “कांग्रेसको सानो उपस्थिति देखेर पेलेरै जान्छु भनेर प्रधानमन्त्री अगाडि बढेको र सभामुख कृष्णबहादुर महराले सहयोग गर्दै सरकारकै लाचार छाया बनेकाले यस्तो अवस्था आएको हो ।”
“सभामुखले प्रधानमन्त्रीको लाचार छाया बनेर प्रधानमन्त्रीसँग मिलेमतो गर्दै संसदीय मर्यादालाई लछार्दै हिँड्नुभएको छ,” सांसद विश्वकर्माले भने, “सभामुख संसदको रेफ्री हो । खेलाडीले नियम उल्लंघन गरे उहाँले सिट्ठी बजाएर सचेत गराउने हो । नियुक्ति गर्नेकै पक्षमा लाग्ने होइन ।”

सभामुख विवेकहीन भएको आरोप लगाउँदै उनले सभामुखले संसद सञ्चालननै गर्न नजानेको या त प्रधानमन्त्रीको लाचार छाया बनेको कारण संसदमा कांग्रेसले संसदीय मर्यादा कायम गर्न भूमिका निर्वाह गरिरहेको बताए ।

यता प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तीमा पनि सभामुखलाई प्रधानमन्त्रीको लाचार छाया भन्दै चर्को आलोचना गरिएको छ ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्