नफल्ने वर्ष परेकाले आँप महंगियो, किलोको १५०


 


उदयपुर । मौसमी फलफुल मध्ये एक प्रमुख फलको रुपमा चिनिएका आँपको बजार मूल्यले सिमा नाघेको छ । एक वर्ष फल्ने अर्को वर्ष नफल्ने भएकाले स्थानिय आँपको कम उत्पादन हँुदा उदयपुरमा आँपको मूल्यले सिमा नाघेको हो ।

गत वर्ष १० केजी आँप आउने पैसाले अहिले पाँच केजी पनि नआउने उपभोक्ताहरुले बताएका छन् । गत वर्ष ३५/४० रुपैया केजी पाईने आँप अहिले एक सय ५० रुपैया भन्दा बढी भएको उपभोक्ताको भनाई छ ।

बजारमा धेरै थरि आँपहरु भएपनि उपभोक्ताले मालदह नै किन्ने गरको व्यापारीको भनाई छ । आँपको राजा भनेर चिनिने मालदह आँप बढी उपभोक्ताहरुले रुचाउने गरेको व्यापारी विना भगतले बताईन् । उदयपुरमा आँप कम फलेकाले बाहिरबाट ल्याएको आँप महंगो मूल्यमा विक्रि गर्नु परेको उनको भनाई छ ।

आँप कम फलेकाले महंगो मूल्यमा खरिद गरि महंगो मूल्यमै बेच्नु परेको व्यापारी विना भगतले बताईन् । काँचो फलफुलको व्यापारमा कहिले कुहिने त कहिले घाँमले सुक्ने भएकाले नाफा घाटा उस्तै हुने गरेको उनको भनाई छ ।

जिल्लाको त्रियुगा, बेल्टार, रामपुर, त्रिवेणी र कटारी आसपासको भेगमा आँपको खेती गरीने र उक्त क्षेत्र आँप खेतीको लागि उपयुक्त क्षेत्र मानिन्छ । आँपको वंशानुगत गुण नै एक वर्ष फल्ने एक वर्ष नफल्ने भएकाले यस वर्ष नफल्ने वर्ष परेकाले पनि कम उत्पादन भएको अधिकृत ढुङ्गेलले बताए ।

मौसम र आँपको फल्ने नफल्ने वर्ष गर्दा यसपालि आँप उत्पादनमा गिरावट आएको त्रियुगा नगरपालिका कृष विकास शाखा अधिकृत नाथुराम चौधरीले बताए । समयमा पानी नपर्नु र फल लागेपछि हावाहुरी र असिनाले दाना झारेकाले कम उत्पादन भएको उनले बताए ।
समयमा पनी नपर्दा आँपले फुल खेल्दादेखि दाना लागेपछि पनि विभिन्न किराले दाना झार्ने गर्दछ । तर समयमै पानी पर्दा किरा नलाग्ने भएकाले राम्रो उत्पादन हुने गरेको अधिकृत चौधरीले बताए ।

जिल्लामा बाहिरबाट आयात भएका आँप खान योग्य छ कि छैन भनेर परिक्षण गर्ने उपकरण (ल्याव) नभएकाले कुनै आँपको विषदी परिक्षण नगरिएको सम्बन्धित कार्यालयहरुले जनाएको छ । खाली आँखाले छुट्याउन नसकिने भएकाले परिक्षण चाहेर पनि विषादी परिक्षण गर्न नसकिएको सम्बन्धित कार्यालयहरुले जनाएको छ । बजारमा आएको आँप विषदीयुक्त भन्ने जनगुनासो आएपछि पालिकाको कृषी विकास शाखाको पहलमा छिट्टै बजार अनुगमन गर्ने कृषी विकास शाखाले जनाएको छ ।

प्रकाशित मिति: २५ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्