विषादीबारे मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


 


काठमाडौं २५ असार -सर्वोच्च अदालतले नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको १८ असारको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ असारमा नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो ।

काठमाडौंस्थित भारतीय दूतावासले त्यसको विरोध गर्दै मन्त्रालयमा पत्रसमेत पठायो । त्यसपछि १८ असारमा सरकारले तयारी नपुगेको भन्दै विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको थियो ।

सर्वोच्चले यस विषयमा असार ३० गते रीट निवेदनकर्ता र विपक्षी सरकार दुबै पक्षलाई छलफलमा बोलाएको छ । छलफलबाट टुंगो नलाग्दासम्म विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

प्रकाशित मिति: २५ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्