तरकारी जाँच गर्न प्रयोगशालामा कर्मचारी नै छैनन्


 


धनगढी । सरकारले कैलालीको अत्तरियामा रहेको तरकारी तथा फलफूलको विषादी जाँच गर्नका लागि पठाएका कर्मचारी अहिलेसम्म पुगेका छैनन। एकजना प्राविधिक पठाएको पत्र पुगेको हप्ता दिन भइसक्दा कर्मचारी भने नपुगेका विषादी अवशेष द्रुत विश्लेषण इकाइ अत्तरियाका प्राविधिक अधिकृत जितबहादुर थापाले बताए। ‘सरकारले एक जना प्राविधिक पठाएको पत्र पुगेको छ तर कर्मचारी भने पुगेका छैनन’, प्राविधिक अधिकृत थापाले भने,‘ विषादी परीक्षण गर्ने एउटा मेसिन भएको र त्यसमा पारमेट र अग्रानिक फास्फेट परीक्षण गरिने छ।’

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ अत्तरियाको थोक तरकारी बजारका लागि मात्रै भनेर स्थापना भएको विषादी परीक्षण प्रयोगशालामा अहिले भारतबाट आयात हुने तरकारी र फलफूल पनि चेकजाँच गरिदै आएको छ। थापाले भन्सारले सिल गरे प्रयोगशालामा पठाएपछि चेकजाँच गर्ने गरिएको बताए।

‘असार देखि सरकारले भन्सारबाट आयातीत तरकारी पनि परीक्षण गर्ने निर्देशन दिएको छ,’ थापाले भने। अत्तरियामा रहेको प्रयोलशाला सीमा नाकाबाट झण्डै १५ किलोमिटर टाढा छ। नेपाल सरकारले असारको पहिलो हप्ता देखि बिरुवा जन्य बस्तु, तरकारी र फलफूल, नेपाल भित्र्याउन पूर्व सम्बन्धित मुलुकको स्वस्थताको प्रमाणपत्र अनिवार्य गरेको थियो। प्रदेशको राजधानी धनगढी र ७ वटा पहाडी जिल्लाका लागि भारतबाट आयात हुने तरकारी र फलफूल असारको पहिलो हप्ता देखि नै बन्द छ। सुदूरपश्चिम प्रदेशमा अत्तरियाको मिनि ल्याब बाहेक तरकारी र फलफूलको विषादी जाँचगर्ने प्रयोगशाला छैन।

तर सुदूरपश्चिम प्रदेश सरकारले प्रयोगशालाका लागि विनियोजन गरेको बजेट भने फ्रिज भएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७५÷०७६ मा ७५ लाख रूपैयाँ विनियोजन गरेर सुदूरपश्चिमका तीन वटा सीमा नाकामा प्रयोगशाला निर्माण गर्ने योजना बनाएको थियो।

प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी भन्सार नाकामा रहेका प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा प्रयोगशाला स्थापना गर्न खोजेपनि त्यो रकम काम नगरिएकाले फ्रिज भएको हो।

भारतबाट तरकारी र फलफूल आयात बन्द भएपछि कैलालीको त्रिनगर भन्सार नाकामा रहेको क्वारेन्टाइन कार्यालयका कर्मचारी फुर्सदिला भएका छन्। विरुवा जन्य बस्तुलाई नेपालमा भित्र्याउन पूर्व अनिवार्य रुपमा सम्बन्धित मुलुकको स्वस्थताको प्रमाणपत्र चाहिने भएपछि डेढ महिना देखि क्वारेन्टाइनका कर्मचारी फुर्सदिला भएका हुन्। असार पहिलो साता देखि त्रिरिनगर नाकाबाट कुनै पनि तरकारीहरु भित्रिन सकेको छैन्। सुदूरपश्चिम प्रदेशमा प्रत्येक वर्ष भारतबाट खाद्यान्न १५ हजार, तरकारी १० हजार, आलु २५ हजार, फलफूल १० हजार, तेलहन ५ हजार र पशुदाना १० हजार मेट्रिक टन आयात हुने गरेको छ।

प्रकाशित मिति: १७ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्