शेरबहादुर देउवाद्धारा नेविसंघमा नयाँ नेतृत्व आउने दावी


 


काठमाडौं २२ भदौ
– नेपाली काँग्रेसका सभापति शेरबाहादुर देउवाले केही दिनभित्र नेविसंघमा नयाँ नेतृत्व आउने दावी गरेका छन् । अछाम–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित जय नेपाल स्मारिक विमोचन तथा दशै, तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले सहमतिको खोजिगर्दा नेविसंघमा नेतृत्व ल्याउन ढिला भएको बताए ।
सांसद रामबहादुर विष्टले ६ महिनादेखि नेविसंघमा नेतृत्व किन आउन सकेन भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘ पार्टीभित्र कुरा मिलाउन खोज्दा केही ढिलो भएको हो । अब कुरा मिलोस्–नमिलोस्, सहमति होस्–नहोस्, २–४ दिनभित्र नेविसंघमा नयाँ नेतृत्व आउँछ १ बस म यति भन्छु ।’

यस्तै फरक प्रसंगमा सभापति देउवाले केपी ओली सरकारले संविधानको मर्म एवं भावनाविपरीतका कानुन ल्याएर मुलुकलाई एकदलीय सर्वसत्तावादतर्फ लैजान खोज्दाअहिले परिणाम देखिएको बताए ।
उनले भने, ‘नेपाली सेना, पुलिस, कर्मचारी र न्यायालयलाई आफूप्रति प्रतिबद्ध बनाएर नयाँ कम्युनिस्ट शासनको अभ्यास गर्न थालिएको छ । सरकार बदलिने कुरा ठूलो होइन । कहिले कांग्रेस आउँछ, कहिले अर्को आउँछ तर यहाँ प्रणाली नै बदल्ने प्रयास भएको छ । जसले परिणाम सरकार प्रणाली बचाउन काँग्रेससँग गुहार माग्ने अवस्थामा पुगेको छ ।’

यस्तै सह–महामन्त्री प्रकाशशरण महतले केही दिनअघि काँग्रेस कहाँ छ भन्नेहरु आज गुहार माग्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘केही दिनअघि कहाँ छ काँग्रेस भन्ने केपी ओली अहिले आफ्नो असफलता ढाकछोप गर्न काँग्रेससँग हारगुहार मागिरहेको अवस्था छ ।’

नेता एनपी साउँदले पनि सरकार पूर्णरुपमा असफल भएको दावी गरे । नेता साउदले सरकार दुईतिहाईको दम्भ देखाएर संवैधानिक आयोगका प्रमुखलाई तर्साइरहेको बताए ।

प्रकाशित मिति: २२ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्