खुला दिसामुक्त राष्ट्र घोषणा सभ्यताको नयाँ सिँढी हो : प्रम


 


काठमाडौँ, १३ असोज

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणाले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताएका छन । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको सो घोषणा समारोहमा प्रधानमन्त्री ओलीले घोषणामा अन्तरनिहित विविध पक्षलाई सबलीकृत गर्दै अनवरतरुपमा जनजागरण र जनचेतना फैलाउन आवश्यक भएकामा जोड दिँदै नेपाललाई अल्पविकसितबाट माथि उठाउने, गरीबीको रेखाबाट माथि पुग्ने, निरक्षता उन्मूलन गर्ने जस्ता कामका लागि सरकार सजगताका साथ योजनाबद्ध भई अगाडि बढेको जानकारी दिए ।

उनले भने, “हाम्रो विकास हामीले गर्नुपर्छ । सचेत प्रयास हामीले अगाडि बढाउनुपर्छ । कुनै पनि देशलाई अर्काले आएर बनाइदिएर हुँदैन, आफैँले बनाउनुपर्छ । यो घोषणाले नेपाल स्पष्टतः एक कदम अगाडि बढेको छ । नयाँ नेपाल यसै गरी बन्ने हो ।”

उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न नेपाल हरेक दिन एक कदम अगाडिको अभियान थालिएको उल्लेख गर्दै सामाजिक र स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि नयाँ उचाइमा पुगिएको बताए । यस घोषणाबाट मानिस निरोग हुने, स्वास्थ्योपचारमा हुने खर्च घट्ने, सङ्क्रमण र कम हुने, मृत्युदर कम हुने र सरदर आयु वृद्धि हुने प्रधानमन्त्रीले बताए ।

“हामी जनताप्रति उत्तरदायी हुन्छौँ । जनतालाई अमानवीय अवस्थामा हुन नदिने सङ्कल्प छ । सडकमा बेसहारा रहने अवस्था चाँडै मुक्त गर्र्छौँ । अब समग्र सफा, स्वच्छ नेपाल बनाउनुपर्छ । प्राकृतिक हिसाबले नेपाल चिटिक्क छ ।” उनले भने, “सिङ्गै नेपाललाई चिटिक्क बनाउने तथा बाटा, खेत, डाँडापाखा सबै हेरिरहुँ जस्तो बनाउने दिशामा अगाडि बढेका छौँ ।”


प्रधानमन्त्री ओलीले नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरेका थिए । साथै उनले सन् २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्ने सङ्कल्प पनि गरे । घोषणालाई कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा सहभागीले राष्ट्रिय झण्डा फहराउँदै तालीको गड्गडाहटले स्वागत गरेका थिए ।


सो अवसरमा खानेपानीमन्त्री विना मगरले नेपाल आधारभूतरुपमा सरफाइमा अग्रसर भएको जनाउँदै पछिल्लो समयमा नेपालमा ५६ लाख चर्पी निर्माण भएको तथ्याङ्क प्रस्तुत गरे । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले उक्त घोषणा नेपालको सफलता भएकाले अब पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए ।


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफ्नो प्रदेशमा पक्की शौचालय र पर्याप्त पानीको धारा नभएको र राउटेहरु घुमन्ते भएकाले उनीहरुलाई स्थायी शौचालय दिन नसकिने बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले सरसफाइमा नेपाल अग्रसर भए पनि स्वास्थ्य क्षेत्रमा अझै काम गर्न बाँकी रहेको बताए ।


राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले एकताबद्ध भएर योजनाको कार्यान्वयन गर्न सकेमा कठिनतम लक्ष्य पनि पूरा गर्न सकिन्छ भन्ने उदारहरण आजको घोषणा भएको बताए । प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनालले ऐतिहासिक सफलता हामीले प्राप्त गरेको जनाउँदै यो समग्र नेपाली प्रतिष्ठा, सभ्यता र सम्मानसँग जोडिएको विषय भएको बताए ।

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्