नेकपाभित्र सभामुखको खोजी, यी हुन् सम्भावित अनुहार


 


काठमाडौं, असोज १६
सभामुख पद रिक्त भएछि भावी सभामुखको खोजी र यसको प्रक्रियाका विषयमा राजनीतिक दलहरूभित्र अनौपचारिक छलफल सुरु भएको छ । संविधानअनुसार सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने भएकाले सभामुख पद लिन कस्तो विकल्पमा जाने भनेर सत्तारूढ नेकपाभित्र आन्तरिक छलफल हुन थालेको स्रोतले बताएको छ ।

उपसभामुखमा नेकपाकै शिवमाया तुम्बाहाङ्फे रहेकाले सभामुख पदमा अर्को दलले सिफारिस गरेको व्यक्ति हुनुपर्छ । तर सत्तारूढ दलले सभामुख पद अर्को दललाई दिन चाहेको छैन । स्रोतका अनुसार सभामुखका लागि कतिपय नेताले लबिइङ थालिसकेका छन् । राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गरिसकेपछि संसद् सञ्चालनका लागि दुइटा विकल्प छन् । पहिलो उपसभामुखले पनि पदबाट राजीनामा दिने र सदनका ज्येष्ठ सदस्यले संसद् बैठक चलाउने र सभामुख, उपसभामुख दुवै पदका लागि चुनावी प्रक्रियामा जाने । अर्को विकल्प, उपसभामुखले कार्यवाहक सभामुखका हैसियतमा सदन सञ्चालन गर्ने । तर यो विकल्प निश्चित अवधिका लागि मात्रै हो ।

पहिलो विकल्पका लागि नेकपाले उपसभामुख तुम्बाहाङ्फेको विश्वास जित्न सक्नुपर्छ । किनभने तुम्बाहाङ्फे स्वयंले आफूलाई सभामुखका लागि स्वाभाविक रूपमा दाबेदार मानेकी छन् । स्रोतका अनुसार पार्टीले सभामुख बनाउने विश्वास दिलाए मात्रै उपसभामुखबाट राजीनामा दिने उनको पहिलो सर्त हुनेछ । उनले उपसभामुख पद छाडिनन् भने प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीअनुसार नेकपाले सभामुख पद अर्को दलका लागि छाडिदिनुपर्छ । यस्तो अवस्थामा स्वाभाविक रूपमा सत्ता साझेदार समाजवादी पार्टीलाई सभामुख पद छाड्नुपर्छ । तर नेकपाले त्यसो गर्न चाहेको छैन ।

सभामुख नेकपासँगै रहने अवस्थामा केही नयाँ र पुराना नाम चर्चामा आइसकेका छन् । पूर्वएमालेबाट संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र उपसभामुख तुम्बाहाङ्फे सम्भावित सभामुखका रूपमा चर्चामा छन् । पूर्वमाओवादीबाट भने पूर्वसभामुख ओनसरी घर्ती, अग्नि सापकोटा, पम्फा भुसाल र देव गुरुङको चर्चा छ । तर यहाँभित्र पनि राजनीतिक हिसाबकिताब हेरिन्छ । नेकपाका अध्यक्ष दाहाल भुसाल र गुरुङलाई अहिले पनि पार्टीभित्र रामबहादुर थापा कित्ताकै ठान्छन् । थापा समूह दाहालसँग असन्तुष्ट हुँदै मोहन वैद्यसँगै पार्टीबाट अलग्गिएका थिए । पछि एकीकरण गरेर थापा फर्के ।

सापकोटा दाहालका विश्वास पात्र हुन् तर उनी संक्रमणकालीन न्यायसम्बन्धी थुप्र्रै मुद्दामा जोडिएका छन् । महरा पूर्वमाओवादीकै भएकाले तिनैमध्येका नेतालाई सभामुख बनाउने सम्भावना धेरै छ । यस्तोमा घर्तीको दाबी आउन सक्छ । यसको पछाडि अर्को पनि कारण छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्दा ऊर्जामन्त्री वर्षमान पुन ब्याक हुनुपर्यो भने उनले सभामुखमा रूपमा आफ्नी श्रीमती घर्तीलाई अघि सार्न सक्छन्, आजको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ ।

प्रकाशित मिति: १६ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्