दिदीबहिनीद्वारा कारागारमै भाइटीका


 


जुम्ला, १२ कात्तिक

विभिन्न मुद्दामा कैद भुक्तानी गरिरहेका जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले कारागारमै भाइटीका लगाएका छन् । जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा रहेका कैदीबन्दीहरुमध्ये आफ्ना दिदीबहिनीहरुको हातबाट भाइटीका लगाएको जिल्ला कारागार व्यवस्थापन शाखाले जनाएको छ ।

हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारलाई देशविदेशमा रहेकाहरुले धुमधामसँग मनाइरहेका बेला यहाँका जिल्ला कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेकाले पनि आफ्नो दिदीबहिनीहरुको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन् ।

टीका लागि कारागारले ठाउँ र समयको व्यवस्थापन गरिदिएको जेलर जङ्गबहादुर राईले बताए । टाढाटाढाबाट आएका दिदीबहिनीहरुका लागि आवश्यक समय व्यवस्थापन गरिदिएको कारागार शाखाले जनाएको छ । जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २४० जना विभिन्न मुद्दामा कैद भुक्तान गर्ने कैदी बन्दीहरु रहेका छन् ।

त्यसैगरी जिल्ला कारागार तनहुँमा रहेका कैदीबन्दीले पनि आज कारागारभित्रै भाइटीका लगाएका छन् । हरेक वर्ष झैँ कैदीबन्दीले यस वर्ष पनि कारागारभित्रै आ–आफ्ना दिदीबहिनीका हातबाट टीका लगाएका हुन् ।

टीका लगाउन कारागार प्रशासनले व्यवस्थापन मिलाएको सहायक जेलर नारायण अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार टीका लगाउन साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । कूल ३५ जनाको क्षमता रहेको कारागारमा हाल थुनुवा र कैदी गरी १४१ जना कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति: १२ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्