अर्घाखाँचीमा खतरनाक दुर्घटना, १७ जनाको मृत्यु, १४ घाइते


 


सन्धिखर्क, मंसिर ११

अर्घाखाँचीमा डरलाग्दो बस दुर्घटना भएको छ । सन्धिखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको हो । सन्धिखर्कबाट बुटवल आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस तीन सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा तीन बालबालिका समेत रहेका छन् । दुर्घटनामा १४ जना गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीका अनुसार दिउँसो साढे एक बजे सन्धिखर्कबाट बस छुटेको थियो ।

बस छुटेको १ घण्टामा दुर्घटना भएको थियो । सन्धिखर्कबाट बस छुट्दा नौ जना यात्रुले मात्रै टिकट काटेका थिए। बाँकी यात्रु घुम्ती भन्ने स्थानबाट बसमा चढेका थिए ।

प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार घाइते ११ जनालाई बुटवल र ३ जनालाई सन्धिखर्क लगिएको छ । मृतक र घाइतेको सनाखत हुन सकेको छैन। बसमा ३० यात्रु रहेको अनुमान गरिएको छ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । बसका चालक सहचालक समेत वेपत्ता छन् ।

प्रकाशित मिति: ११ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्