प्रधानमन्त्रीलाई आराम गर भन्ने गगन ७७ वर्षे उम्मेदवारलाई भोट माग्दै हिँडेपछि प्रचण्डले दिए दनक !


 


काठमाडौं, मंसिर ११

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आराम गर भनेर सुझाव दिएका कांग्रेस युवा नेता गगन थापा ७७ वर्षीय उम्मेदवारलाई भोट माग्दै हिँडेको भन्दै आपत्ति जनाएका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले ७५ वर्षे खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । पौडेलका लागि भोट माग्दै गगन थापा पोखरामा हिँडिरहेका छन् ।

बुधबार पोखरा पुगेका नेकपा अध्यक्ष प्रचण्डले देवघाटतिर जानुपर्ने मान्छेलाई कांग्रेसले चुनावमा अघि सारेको र प्रधानमन्त्रीलाई आराम गर भन्नेहरु प्रचारमा उत्रिएको भन्दै आलोचना गरे । प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएका बेला गत भदौ १८ गते संसदमा कांग्रेस सांसद थापाले विरामी भएका ‘बा प्रधानमन्त्रीलाई’ नेकपाले आराम गर्न दिनुपर्ने बताएका थिए ।

गगनले बोलेको तीन महिनापछि बुधबार पोखरामा प्रचण्डले, ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ बर्षको बूढालाई, जो अब देवघाटतिर जानुपर्ने हो । त्यहाँ गएर ध्यान र ज्ञान सिक्नपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्ष जवानलाई रेष्ट गर्ने भन्न मिल्छ त?’ यो कहीँ कतैबाट मिल्ने कुरा होइन ।’

संसदमा थापाले प्रधानमन्त्रीलाई धपेडी भएकोले आराम गर्न दिनुपर्ने बताएका थिए । ‘मैले धेरैपटक नेपाल कम्युनिस्ट पार्टीका युवा सांसदहरूले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु ।

प्रधानमन्त्री हाम्रो पनि बासरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं ? बा धपेडी नगर्नुस, बा आराम गर्नुस, बा बिश्राम लिनुस् । हामीले हाम्रो बालाई यति भन्न सक्छौं भने प्रधानमन्त्रीलाई किन भन्न सक्दैनौं ?’ उनले प्रश्न गर्दै भनेका थिए ।

याे पनि पढ्नुस्

गगनजी ! प्रधानमन्त्रीलाई आराम गर भन्ने तपाइले ७७ वर्षीय वृद्धका लागि भोट माग्न लाज लाग्दैन?

प्रकाशित मिति: ११ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्