रोकिएन हात्तीको हैरानी



झापा, मंसिर २०
झापाको पुरानो हैरानी हो जंगली हात्ती आतंक । कुनैबेला पूर्वोत्तर झापाको बाहुनडाँगी र शान्तिनगरमा सिमित समस्या अहिले जिल्लैभर विस्तार भएको छ । सोलार फेन्सिङले बाहुनडाँगीमा आतंक घटेको छ तर अन्यत्र ह्वात्तै बढेको छ ।

झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले दुःख दिन थालेको छ । अहिले हात्ती समसाँझै गाउँ पसेर घर भत्काउन, लगाएका अन्नबाली खाइदिन थालेपछि त्यस क्षेत्रका बासिन्दा रातभर नसुती जाग्राम बस्न विवश बनेका छन् ।

वडा नं १३ का अध्यक्ष कृष्णराज सिग्देलले हातेमालो सामुदायिक वनबाट एक्ले हात्ती साँझ पर्नासाथ गाउँ पस्ने गरेकोे र घर भत्काउन, भित्र्याइएको धान समेत खाइदिने गरेको जानकारी दिनुभयो ।
यसैगरी वडा नं १५ का स्थानीय कृष्ण दाहालले दैनिक साँझ पर्नासाथ आउने हात्तीले पक्की घरसमेत भत्काउन थालेपछि गाउँले त्रसित भएको बताउनुभयो । उहाँले भन्नुभयो “ दिनभर नजिकै रहेको चिया बगानमा बस्ने र साँझ पर्नेबित्तिकै गाउँ छिर्ने हात्तीबाट जोगिन समस्या भएको छ ,”

डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित क्षेत्रका विद्यालय र सार्वजनिकस्थलमा हात्तीबाट जोगिने उपायका बारेमा सचेतनामूलक सन्देश लेखिएका पोस्टर टाँस्ने र जङ्गल नजिकै बासिन्दालाई टर्चलाइट बाँड्नेलगायतका काम गरेको जनाएको छ ।
कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार झापाका विभिन्न जङ्गलमा रहेका १३ रैथाने हात्तीले गाउँमा पसेर स्थानीयवासीलाई दुःख दिन थालेको बताउनुभयो । उहाँले केही दिनयता दैनिकजसो हात्तीले घर भत्काएको जानकारी कार्यालयमा आइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News