पशुपालनले रोक्दैछ विदेश पलायन


 


झापा मंसिर २०
कुनै बेला ‘दुखिया’ काम भन्दै धेरैले लत्याउने पशुपालन पछिल्लो समयमा स्वरोजगारीको सबैभन्दा सशक्त माध्यम बनेको छ । कामको खोजीमा दिनरात भौतारिने युवा, स्वदेशमा सम्भावना नदेखेर विदेशिएका तर त्यहाँ पनि दुःख पाएकाहरुले पशुपालनकै बलमा समाजमा नयाँ उद्यमीको परिचय बनाउँदैछन् ।

झापाका धेरै ठाउँमा पशुपालन यस्तो प्रभावकारी उपाय देखिएको छ, जसले धेरै तन्नेरीलाई आफ्नै घरआँगनमा पसिना बगाउन प्रेरित गरिरहेको छ । उनीहरुको विदेश पलायन रोकिरहेको छ । भयावह अवस्थामा रहेको बरोजगारी समस्याले दिनहुँ हजारौं युवा खाडीतिर लाग्छन् । यता आम्दानी र भविष्यको सुरक्षा नदेखेका धेरैले पशुपालनबाट जिविका र भविष्य निर्माण गर्न सकिने प्रमाणित गरिरहेका छन् । जिल्लाका धेरै नगर र गाउँका बासिन्दा व्यवसायिक रुपमा गाईभैसी पालेर दूग्ध उत्पादन गरिरहेका छन् । दूग्ध उत्पादनबाटै वार्षिक रुपमा राम्रो आम्दानी गरिरहेका उनीहरुको परिवारमा विदेश पलायनको क्रम पनि घटेको छ ।

केही समययता जिल्लाका विभिन्न सहकारी संस्थाहरुले दुग्ध व्यवसायमा पनि हात हालेर डेरी उद्योग चलाइरहेका छन् । यसले दुग्ध उत्पादक किसानलाई बजारको समस्या हुन दिएको छैन । ‘अहिले जति दुध उत्पादन गरे पनि कहाँ बेच्ने भन्ने चिन्ता छैन’, दश वर्षसम्म कतारमा घोटिएर फर्केका मेचीनगरका हेमन्त उप्रेतीले भने ‘होटलवालाहरुको धाउन पनि पर्दैन, भारतीय व्यापारी पर्खिनु पनि पर्दैन ।’ उनका अनुसार नगर क्षेत्रका धेरै किसानको दुध अहिले नेपाल बहुद्देश्यीय सहकारीको एनएमसी डेरीले लिन्छ । पूर्वकै सफल सहकारीमा दरिएको एनएमसीले डेरी चलाएपछि किसानको दुध घरैघरै बिक्छ ।

पशुसेवा कार्यालयको सहयोगमा विभिन्न ठाउँमा गाई तथा भैसी पकेट क्षेत्र घोषणा गरी दूध उत्पादन गरिँदै आएको छ । यसले आम्दानीमा बृद्घि भएको किसानको भनाई छ । जिल्लाका दूग्ध व्यवसायीले दुधजन्य उत्पादनबाटै वार्षिक एक करोड रुपैयाँसम्म आम्दानी गर्ने गरेको कार्यालयले जनाएको छ । सहकारीमार्फत किसानले दूध उत्पादन गरी विक्री गरेर आम्दानी गर्ने गरेका छन् ।

पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले अलग्गै विभाग गठन गरी किसानको दूध संङ्कलन गर्ने गरेको छ । धरमपुर तोपगाछीलगायत अन्य ठाउँका किसानबाट संकलित दैनिक ४ सय लिटर दूध धाइजनको ऋतिका डेरी उद्योगलाई बिक्री गर्ने गरेको छ ।

आन्तरिक रुपमा रोजगारीको ठूलो अवसर र उद्यमशीलता विकास गरिरहेको पशुपालनमा विपन्न आर्थिक हैसियतका युवा भने चाहेरै पनि लाग्न पाएका छैनन् । शुरुमै ठूलो लगानी गर्नुपर्ने बाध्यताका कारण स्वदेशमै उद्यम गर्न चाहिरहेका तर पूँजी नभएकाहरु यसमा लाग्न पाएका छैनन् । ‘राज्यले पशुपालनमा लाग्न चाहने विपन्न युवालाई सहुलियत ऋणको प्रबन्ध गरे झनै राम्रो हुन्थ्यो’, पूर्वीद्धार सहकारीका पूर्व अध्यक्ष चेतन विष्ट भन्छन् ‘त्यसो गर्नसक्दा पशुपालनले झनै उत्साहप्रद परिणाम दिनेथियो ।’

प्रकाशित मिति: २० मंसिर २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्