काँग्रेसको किचलो उत्कर्षमा, पौडेल र सिटौलापक्षद्धारा केन्द्रीय समिति बैठक बहिष्कार


 


काठमाडौं मंसिर २६
प्रमुख विपक्षी दल काँग्रेसभित्रको किचलो चर्किँदै गएको छ । बुधबार रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरले केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि काँग्रेसको किचलो उत्कर्षमा पुगेको हो ।

महाधिवेशनको विषयलाई बैठकको एजेन्डा बनाउन सभापति शेरबहादुर देउवाले अस्वीकार गरेपछि पौडेल र सिटौला पक्षले बैठक बहिष्कार गरेको हो । यसअघि
‘मंसिरभित्र महाधिवेशनको कार्यतालिका घोषणा गर्ने सहमति बनेको थियो । तर, सभापतिले बैठककोृ एजेन्डा बनाउनै अस्वीकार गरेपछि विवाद भएको हो ।

कांग्रेसको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल यही फागुनमा पूरा हुँदैछ । फागुनमा महाधिवेशन सम्भव नभएकाले पौडेल समूह पनि केही समय म्याद थप गर्न तयार छ ।

तर सभापति देउवाले डेढ वर्ष कार्यकाल लम्ब्याउने संकेत गरेपछि नेताहरु असन्तुष्ट छन् । त्यसो त केही दिन अघि विराटनगरमा महामन्त्री संशाक कोइरालाले महाधिवेशन एक वर्ष पछि धकेलिने बताएका थिए ।

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्